मकवानपुर, १० जेठ ।
चलचित्र पत्रकार एवं गीतकार गीता अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट हेटौँडामा सम्मानित भएकी छिन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँसहितकाे नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेकाे हाे । मिलाप राष्ट्रिय मासिक पत्रिकामा आवद्ध अधिकारी दुई दशक भन्दा बढी समयदेखि चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार नेपाल चलचित्र संघका अध्यक्ष एवं निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन् ।
विहीबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच अधिकारी सहित चार जनालाई पुरस्कृत तथा सम्मान गरिएको छ । संघले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट बालकृष्ण अधिकारीलाई पुरस्कृत गरेको छ । संघको संस्थापक सह सचिव अधिकारी मकवानपुरमा रहेर कान्तिपुर टेलिभिजनमा आबद्ध छन् ।
त्यस्तै, सोही अवसरमा चलचित्र कलाकर्मी सम्मान २०८१ बाट कलाकार कोशिश क्षेत्रीलाई सम्मान गरिएको छ । कलाकार सुशान्तकुमार श्रेष्ठले बुबाको नामबाट स्थापित धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८१ बाट कलाकार ध्रुव न्यौपानेलाई सम्मानित भएका छन् । मकवानपुरमा जन्मिएर राष्ट्रमा आफ्नो कला, साहित्य, संगीत क्षेत्रमा सक्रिय कलाकर्मीहरुलाई उक्त विधामा सम्मान गरिएको हो ।
सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाई, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्त कुमार श्रेष्ठ, संघका महिला विभाग संयोजक दीपज्योति थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, सम्मानितको तर्फबाट गीता अधिकारी, संघका उपाध्यक्ष श्रीराम अर्जुनलगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंद्ध मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, एनएस सिनेमाका सञ्चालक नवराज आचार्य, ओम्याक्स सिनेमा सञ्चालक राम राजभण्डारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको अतिथ्यता रहेको थियो ।