भरतपुर, ९ जेठ ।
महिला, किशोरी र बालिकाहरुमाथि यौन दुर्व्यवहार, जवरजस्तीकरणी, घरेलु हिंसालगायत विभिन्न प्रकृतिका हिंसाका घटना बढ्दै गएपछि किशोरीहरुलाई प्रतिरक्षा गर्न सिकाउने अभियानमुलक कार्यक्रम बुधबारदेखि शुरु भएको छ ।
आदर्श नारी विकास केन्द्रले संस्थाको ३३औं स्थापना दिवसको अवसर पारेर भरतपुर १६ स्थित दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयका ९ र १० कक्षाका छात्राहरुसँग आत्मरक्षाका लागि किशोरीसँग मनोपरामर्श कार्यक्रमको सुरुआत गरेको हो । हिंसाका घटना दिनप्रतिदिन बढ्दै जाँदा किशोरीहरुको असुरक्षा प्रमुख सवालको रुपमा रहेको संस्थाका संस्थापक एवं महिलाअधिकारकर्मी मीना खरेलले बताइन् ।
विशेषगरि १६ वर्ष मुनिका बालिकाहरु यौनहिंसालगायतको शिकार भइरहेको सरकारी तथ्याङ्कमा पनि देखिएको छ । अधिकारकर्मी खरेलले स्थानीय तहका आगामी नीति तथा कार्यक्रमहरु मानवीय विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । घटना भइसकेपछि भन्दा घटना हुनै नदिन सचेत हुनुपर्ने तर्फ औल्याउँदै उनले विद्यालयको पाठ्यक्रममै यस्ता विषयहरु समेटिनुपर्ने बताइन् ।
उमेरसँगै आउने परिवर्तनमा मनलाई नियन्त्रण गर्न नसक्नु साथै सामाजिक सञ्जालको दुरुपयोगले किशोरावस्थाका बालिकाहरु हिंसाको शिकार हुनुपरेको संस्थाको अध्ययनमा उल्लेख छ । कलिलो उमेरमा प्रेममा फस्ने र चाहना अनुसार अगाडि नबढ्दा मानसिक समस्या उत्पन्न भई आत्महानीका घटना हुने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा पनि आत्महानीको घटना बढ्दो क्रममा रहेको देखिन्छ । २०८० साउन यता ०८१ वैशाखसम्मको तथ्याकं हेर्दा चितवनमा मात्र ८९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
विभिन्न प्रकृतिका हिंसाका कारण महिला किशोरी तथा बालबालिकाहरुमा मानसिक समस्या बढ्दो देखिएकाले विशेषगरी किशोरावस्थाका छोरीहरुलाई लक्षित गरि आत्मवल र आत्मरक्षाका लागि अभियानमुलक कार्यक्रमको सुरुआत गरिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष अमृत हमालले संस्थाको यस अभियानलाई वडाले पनि साथ दिने वचन दिए । उनले किशोरावस्थामा हुने प्रेमले व्याल्कमेलिङ रुप लिई यसले समाजमा जटिल समस्या सिर्जना गरेको उनले बताए । भरतपुर १६ का प्रतिनिधिमुलक घटना सुनाउँदै उनले किशोरावस्थाका बालबालिकाहरु माया प्रेम र अन्य गतिविधिमा नलागी भविश्य सोचेर पढाईमा केन्द्रित हुन आग्रह गरे । बेलैमा सचेत हुन सके ठुलाठुला घटनाबाट महिला तथा बालिकालाई बचाउन सकिने भन्दै उनले १६ नम्बर वडाले मानवीय विकासका कार्यलाई नै प्रमुख प्राथमिकतामा राखेर योजना निर्माण गर्न प्रतिवद्ध भएको स्पष्ट पारे ।
विद्यालयका प्राधानाध्यापक माधव पौडेलले विधार्थीको मनोवल बढाउन र उनीहरुको आत्मरक्षाका लागि आदर्शले ल्याएको अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले संस्थाले गरिरहेको कार्यको खुलेर प्रसंशा समेत गरे ।
सो अवसरमा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले आफूमाथि कुनै पनि हिंसा भयो भने नजिकको आफन्तलाई भनेर प्रहरीमा उजुरी दिन आग्रह गरे । सो अवसरमा प्रहरीको टोलीले प्रतिरक्षाको गर्ने विधिहरुको उदाहरण (डेमो) देखाइएको थियो । कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता नर्वदा गौडेलले मानसिक स्वास्थ्यको बारेमा सहजीकरण गरेकी थिइन् ।
संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले संस्थाले यो कार्यक्रमलाई जिल्लाका अन्य ११ विद्यालयमा पनि निरन्तर सञ्चालन गर्ने जानकारी दिइन् । स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम गर्न लागेको संस्थाले महिला किशोरी र बालिकाको संरक्षण, सुरक्षा र न्यायका लागि पैरवीका लागि अभियान सञ्चालन गर्ने योजना बनाएको उनले बताइन् । कार्यक्रम संयोजक एवं सचिव सरिता सुवेदी पाठकले संस्थाले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तर अगाडी बढाउने बताइन् ।
महिला तथा बालबालिकाको क्षेत्रमा विगत ३३ बर्षदेखि अनवरत यस संस्था महिलाहरु, विना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजनाको लागि क्रियाशील छ । संस्थाले महिलाहरुको अन्तर्निहित शक्तिको सबैले कदर गरौँ भन्ने मुल मन्त्रका साथ स्थापना कालदेखि नै महिलाअधिकार, बालअधिकार र मावनअधिकारको रक्षार्थ अभियानमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यसैबीच विद्याथीहरुमाझ पहिलो पटक गरिएको आत्मरक्षाको कक्षा निकै प्रभावकारी बनेको छ । विद्यार्थीहरुले आफु तथा परिवार र नजिकका साथीभाईलाई कसैले आक्रमण गरे या गलत तरिकाले शरिरमा छुन खोजे प्रतिरक्षा गर्न सक्ने आँट आएको भन्दै खुसी व्यक्त गरे । महिला बालबालिकाको हकहित सुरक्षाको सवालमा क्रियाशील संघसंस्था र वडाध्यक्ष जस्ता अभिभावकको साथ र शिक्षाले आफुलाई थप हिम्मत बढेको उनीहरुको भनाई थियो । बालबालिकामाथि भइरहेका यौनजन्य हिंसालगायतका अन्य आपराधिक घटनाले बालबालिकाको मानसिकतामा नकरात्मक असर परिरहेको उनीहरुले बताएका थिए । बालबालिकाको मानसिक स्वास्थ्यका लागि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका थिए ।