भरतपुर, ६ जेठ ।
कविडाँडा साहित्य समाज चितवनले २१ औँ वार्षिकोत्सवका अवसरमा तीन जना स्रस्टालाई सम्मान एवम् पुरस्कृत गरेको छ ।
शनिबार निर्भाना रिसोर्ट भरतपुर-११ मा आयोजित वार्षिकोत्सव समारोहमा स्रस्टाहरू सिम्रन क्षेत्री, खनाल रेवतीरमण र प्रकाश चापागाईंलाई सम्मान गरिएको हो । समाजका कार्यबाहक अध्यक्ष सीताराम कोइरालाको अध्यक्षता गरिएको कार्यक्रममा कविडाँडा देव-खिना स्मृति पुरस्कार २०८१ बाट कवि लेखक खनाल रेवतीरमण, कविडाँडा वाङमयी युवा प्रतिभा पुरस्कार २०८१ बाट आख्यानकार सिम्रन क्षेत्री र कविडाँडा अविनाशी कृति पुरस्कार २०८० – बाट `कमिलाको प्वाँख´ कवितासङ्ग्रहका लागि कवि प्रकाश चापागाईं सम्मानित भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि कविवर गोविन्दराज विनोदीले दोसल्ला, प्रमाणपत्र र नगदले तीनैजनालाई सम्मान गरेका हुन् । पुरस्कारको राशी जनही १५ हजार १६० रुपैयाँ छ । सम्मानित स्रस्टाका बारेमा समालोचक रमेश प्रभातले बोलेका थिए । कार्यक्रममा बोल्दै समालोचक प्रभातले सम्मानित व्यक्तिको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए ।
कार्यक्रममा समाजका कोषाध्यक्ष नवराज ढुंगानाले स्वागत मन्तव्य राखेका थिए भने संस्थापक उदय अधिकारीले कविडाँडाको सुरुआती दिनको स्मरण गर्दै अहिलेसम्म गरेका महत्त्वपूर्ण कामको चर्चा गरेका थिए । त्यसैगरी कवि गणेश श्रमण र भूपिनले शुभकामना मन्तव्य राखेका थिए ।
अस्ट्रेलियामा रहेका समाजका अध्यक्ष एलबी क्षेत्रीले इमेलमार्फत पठाएको शुभकामना सन्देशलाई सचिव लेखराम सापकोटाले वाचन गरेर सुनाएका थिए ।