भरतपुर, ६ जेठ ।
भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूलले नमुना निर्वाचनमार्फत विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सहनायकहरू निर्वाचित गरेको छ ।
प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धतिमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ का लागि आ-आफ्ना प्रतिनिधिहरू चुनेका हुन् ।
कुल ३६ जना उम्मेदवारहरू सहभागी निर्वाचनमा विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा तथा ४ सदनका नायक-सहनायक गरी १२ जना उम्मेदवारहरू निर्वाचित भएका हुन् ।
मतदान परिणाम अनुसार विद्यालय कप्तानमा छात्रतर्फ आदित्य थापा, उप कप्तानमा सचिन खनिया र छात्रातर्फ अमिता प्रजा र प्रिया सिलवाल क्रमशः कप्तान र उपकप्तानमा निर्वाचित भएका छन् ।
त्यसैगरी ४ वटा सदनका नायक र सहनायकमा, निलो सदनबाट दिसन पुलामी मगर र विपसना अर्याल, हरियो सदनबाट पूर्णिमा मण्डल र शिव सुनार, रातो सदनबाट विराज थपलिया र सजिना कार्की, र पहेँलो सदनबाट अनिस कुँवर र जेशिका भारती निर्वाचित भएका छन् ।
निर्वाचन सञ्चालन समितिको संयोजकको भूमिकामा रहेका विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सन्देश घिमिरेले ग्रीनल्याण्ड पब्लिक स्कूलले विद्यार्थी नेतृत्व निर्वाचनमार्फत छनौट गर्ने यो प्रक्रिया यसै वर्षदेखि नवीन थालनी भएको र यसवाट विद्यार्थीले प्रजातान्त्रिक निर्वाचन प्रणाली राम्रोसँग बुझ्न पएको बताए ।
निर्वाचन अधिकृतको भुमिकामा रहनुभएकी विद्यालयकी प्रिन्सिपल इन्दिरा पन्त कार्कीका अनुसार उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध फिर्ता अनि प्रचारप्रसारको लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले वास्तविक निर्वाचनको पूर्ण अनुसरण गरेको थियो ।
नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउँदै, राजनीतिक सामाजिकीकरणको स्वस्फूर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको कार्कीले बताइन् ।