मकवानपुर, ५ जेठ ।
बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सन्दर्भमा प्रदेश सभाका दलका नेतृत्वसँग छलफल गरिएकाे हाे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाकाे सहभागितामा भएकाे छलफलमा प्रदेशभित्र परिचालन र प्रवर्द्धन गर्न सकिने तुलनात्मक लाभका क्षेत्रहरु, राजस्वका दर परिमार्जन, दायरा विस्तारलगायतका विषयहरु समेटिने गरी राजस्व वृद्धि सम्बन्धी, अनावश्यक चालु खर्च कटौती गर्दै सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने उपायहरु, बजेट कार्यान्वयनमा प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धलाई, प्रभावकारी बनाउन आवश्यक सुझावहरु, बजेटलाई सन्तुलित र मागमा आधारित बनाउन आवश्यक सुझावहरुका बारेमा छलफल भएको हो ।
कार्यक्रममा मन्त्री थपलियाले आएका सुझावहरुलाई पुँजीको रुपमा राख्ने बताए । आवश्यकता र ठाँउको भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट ल्याइने उनले जानकारी दिए । बजेट बनाउने सन्दर्भमा छलफलबाट आएका सुझाव मार्गदर्शकका रुपमा रहने पनि उनको भनाई थियो । उनले छलफलमा राजस्वको बाटोहरु खोल्ने, खनिज पदार्थ उत्खननको लागि अध्ययन गर्नेलगायतका कामहरु खोजी गर्ने प्रस्ताव गरे । ‘कर बढी लिने भन्दा पनि करको दायरा बढाइनु पर्छ’ उनले भने ‘चुहावट नियन्त्रण एवम् अनावश्यक लगानी समेत रोक्नु पर्छ ।’ बितरणमुखी भन्दा पनि परिणाम मुखी बजेटमा जोड दिने मन्त्री थपलियाले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् पुर्व आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशमा स्रोत कम रहेपनी धेरै काम गर्नुपर्ने बताए । पहिले बहुबर्षिय आयोजनाको स्रोत सुनिश्चित गरेर अरु बजेट बिनियोजन गर्न उनले आग्रह गरे । बजेट भावनामा भन्दा आवश्यकतामा बनाउन समेत उनले सुझाव दिए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य दिनेशचन्द्र देवकोटाले लाभको क्षेत्र छनोट गरि इको टुरीजमलाई जोड दिन सुझाव दिए । ग्रिन इको टुरीजम, सांस्कृतिक टुरीजमलगायतका कुराहरु बजेटमा समावेस गर्न उनले आग्रह गरे । कृषि क्षेत्रमा किसानको हातमा पैसा पर्नेगरी लगानी गर्नु पर्ने उनकाे भनाई थियाे । वन क्षेत्रलाई उद्यमशिलता र उत्पादनमा जोड्नुपर्ने बताउँदै उनले विद्यार्थी र विद्यालयको ब्यवस्थापन हुने कार्यक्रमको योजना ल्याउन पर्नेमा जाेड दिए । संघीयतालाई लक्षीत गरी समाजवाद उन्मुख अर्थतन्त्र छुने कार्यक्रमको सुरुवात गर्नुपर्ने उनले बताए । लगानी बोर्ड स्थापना एवम् आर्थिक सम्भावनाका ढोकाहरु खोल्ने गरी बजेट आउनु पर्ने समेत उनले बताए ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज चौलागाईंले योजना बनाउदा माग र आवश्यकता दुबै समेट्नुपर्ने बताए । खास खास क्षेत्रलाई पर्यटन प्रवर्द्धन गरि लगानी गर्न सुझाव दिदै उनले युवा केन्द्रित कार्यक्रम ल्याएर देशमा बस्ने वातावरण बनाउन समेत बजेटले कार्यक्रम ल्याउनु पर्ने बताए । वैदेशिक रोजगारीबाट देशमा भित्रिएको रेमिटान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने कार्यक्रम बनाउनुपर्ने उनकाे धारणा थियाे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेशको आम्दानी स्थायी बनाउने गरि बजेट बनाउनुपर्ने बताए । चुनाव लक्षित भन्दा पनि जनताको अपेक्षा अनुसार उत्पादनमुलक बजेट बनाउन उनले सुझाव दिए । यस्तै एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले राजस्व वृद्धिमा ध्यान दिन सुझाव दिए । उद्योग कलकारखाना स्थापना गर्न प्रोत्साहन गर्ने, अनावश्यक बजेट कटौती गर्ने लगायतका कार्य गर्ने गरी बजेट निर्माण गरिनु पर्ने उनले सुझाव दिए । बजेटमा सन्तुलन गरेर जनताको अपेक्षा पनि पूरा गर्न समेत उनले आग्रह गरे ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रमका विषयमा मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले प्रकाश पारेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक गोबिन्द लम्साल, नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल, नेकपा माओवादी केन्द्र मुख्य सचेतक रत्नप्रसाद ढकाल, नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, कन्चनचन्द्र वादे, नेकपा एमालेका प्रदेश सभा सदस्य ज्ञानबहार लामा, राप्रपाका प्रदेश सभा सदस्य कुमारी तामाङलगायतकाे सहभागिता रहेको थियो ।