भरतपुर, ५ जेठ ।
गजलकार विद्या भण्डारी चिरागको गजलसङ्ग्रह `लौरी हजुरबुबाको´ सार्वजनिक गरिएको छ । पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान गुठीको आयोजनामा शुक्रबार पुस्तक सार्वजनिक गरिएको हो । कविवर गोविन्दराज विनोदी, लकास पौडेल, डाक्टर कर्ण बानियाँ, इन्द्र रेग्मी, रामहरि श्रेष्ठलगायतले पुस्तक सार्वजनिक गरेका हुन् । कृतिमा चिरागका २० वटा सचित्र गजल छन् । गजलसँगै राखिएका चित्र नवीनभक्त अधिकारीले बनाएका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्दराज विनोदीले यो कृति चितवन जिल्लाबाट प्रकाशित पहिलो बालगजलसङ्ग्रह भएको बताए । कवि विनोदीले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि यो कृति उपयोगी भएको बताए । डाक्टर कर्ण बानियाँले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए ।
चिरागको यो आठौं कृति हो । यो पुस्तक हजुरबुबाको दैनिकी भएको चिरागले बताइन् । `यो किताब हजुरबुबाको दिनचर्या हो । हजुरबुबालाई सबैले लौरो बनेर भरोसा दिनुपर्दछ अनि चस्मा बनेर साथ दिनुपर्दछ । हजुरबुबाको हरेक क्रियाकलापमा विचार पुर्याउनु पर्दछ ।´ चिरागले आफ्नो भूमिकामा लेखेकी छन् ।
उनका यसअघि इन्द्रेणीको गेट बालकवितासङ्ग्रह २०६२, नेपथ्यका कुरा गजलसङ्ग्रह २०६४, गजलपथका यात्रीहरू संयुक्तगजलसङ्ग्रह २०६१, नेपाली गजलमा नारी हस्ताक्षर संयुक्तसङ्ग्रह २०६२, चितवनका कवि र कविता संयुक्तसङ्ग्रह २०७०, चरी माथि आकाशमा चित्रकविता २०७१ र हाट बजार चित्रकविता २०७१ प्रकाशित छन् ।
बालबालिकाका लागि सन्देशमुलक र नैतिक शिक्षाको रूपमा रहेको यो पुस्तकको मूल्य २०० रुपैयाँ छ । वितरक सम्पूर्ण किताब नारायणगढ रहेकोे छ । विमोचन कार्यक्रमलाई अक्षर समूहका अध्यक्ष रमेश प्रभातले सहजीकरण गरेका थिए ।