गैंडाकोट, ३० वैशाख ।
गैंडाकोट नगरपालिका- ५ मा रहेको नारायणी टाेल विकास संस्थाको छैटौँ साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता, उपाध्यक्ष पुष्पादेवी सापकोटाको स्वागत मन्तव्य र सचिव बाबुराम पोख्रेलको प्रतिवेदन प्रस्तुत भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा प्रमुख अतिथि रहेका थिए । सभामा मन्तव्य राख्दै अध्यक्ष सापकोटाले टोल विकास संस्थाले विकास निर्माण कार्यमा अग्रसर भई काम गरिरहेको प्रति खुशी व्यक्त गरे । उनले यस टोललाई विकृतिविसङ्गतीबाट टाढा राख्न परिवार जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै अबको पुस्तालाई शिक्षा, खेलकुदलगायत विभिन्न कार्यक्रममा अग्रसर भई लैजानु पर्ने समेत बताए ।
कार्यक्रममा नगर कार्यसमिति सदस्य शान्ति न्यौपानेले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिकरूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न वडा प्रयत्नशील रहेको बताइन् । कार्यक्रममा उषा परियार, विनोद थापा, कृष्णराज पराजुली, लीलाधर पोख्रेललगायत अतिथि रहेका थिए ।