भरतपुर, २९ वैशाख ।
शिक्षण सिकाइ प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि भरतपुरमा सहभागितात्मक कार्यमूलक अनुसन्धानबारे कार्यशाला भएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पस शिक्षा विभागको आयोजनामा र रिसर्च म्यानेजमेन्ट सेलको सहयोगमा सो कार्यशाला गरिएको हो । कार्यशालामा चितवनका सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, माडी क्याम्पस, मैयादेवी क्याम्पस, सहीद स्मृति क्याम्पस र भवानी शंकरका ४४ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पस रिसर्च म्यानेजमेन्ट सेलका अध्यक्ष डा कपिलदेव सुवेदीले प्राध्यापकहरुले अनुसन्धानबिना कक्षा कोठामा पढाएर मात्र खासै अर्थ नराख्ने बताए । उनले भने, ‘प्राध्यापकले कक्षाकोठामा मात्र यति वर्ष पढाए भनेर खासै अर्थ राख्दैन । सप्तगण्डकी क्याम्पसले वार्षिक बजेटको ५ प्रतिशत अनुसन्धानका लागि छुट्याएको छ । अनुसन्धानमा सबै प्राध्यापकले सक्रिय सहभागिता जनाउनुपर्छ ।’ उनले अबको प्राध्यापकलाई गुगलले चिन्ने गरी अनुसन्धानमूलक लेखहरु प्रकाशन गर्न उनले सुझाव दिए ।
कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले क्याम्पसको नियमावलीमा संशोधन गरेर जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशित नगर्ने प्राध्यापकलाई स्थायी र बढुवा नगर्ने गरी नियमावली बनाइने बताए । उनले अबको शिक्षक सिक्ने सिकाउने बिकाउने र टिकाउने हुनुपर्ने विचार राखे । आफ्नो काममा सन्तुष्ट भएर सक्रिय रहँदै अगाडि बढे जीवनको महत्व बुझिने उनको विचार छ । कार्यक्रममा शिक्षा विभागका प्राध्यापक टीकाराम देवकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिरुपमा चर्चित विज्ञहरु ल्याएर यसप्रकारको कार्यशाला गरिएकोले यसबाट अनुसन्धानसहित शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारिता आउने आशा व्यक्त गरे ।
कार्यशालामा विश्वका विभिन्न देशका विश्वविद्यालयमा काम गरिसकेका महेन्द्ररत्न क्याम्पस ताहाचल क्याम्पसका प्राध्यापक डा भीमसेन देवकोटा र असिष्टेन्ट प्राध्यापक सुधा घिमिरेले सहभागितात्मक कार्यमूलक अनुसन्धानअन्र्तगतका विधिहरु, अनुसन्धान पद्धतिबारेमा सहजीकरण गरेका छन् । यो अनुसन्धान एउटा गुणात्मक अनुसन्धान विधि हो । जसको प्रयोग गरी सामाजिक विषयवस्तुलाई बुझेर सामाजिक परिवर्तनका लागि प्रयोग गर्न सकिन्छ । यसलाई अध्ययन–अध्यापन गराउँदा आउने समस्याको पहिचान, समस्या समाधान तथा सुधारका उपायहरु पत्ता लगाउन पनि प्रयोगमा ल्याउन सकिन्छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पस शिक्षा विभागका विभागीय प्रमुख दीपकबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यशालामा क्याम्पस प्रमुख खिमलाल दाहाल, प्राध्यापक संघका सभापति रुद्र चालिसेलगायतको सहभागिता रहेको थियो ।