भरतपुर, २६ वैशाख ।
भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रम अन्तरगत जागृति कोसिस कृषक महिला समूहका २० जनालाई बङ्गुरका पाठा वितरण गरेको छ ।
२०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिएकी हुन् । अभियानकै क्रममा बिहीबार भरतपुर महानगरपालिका–२८ का निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ४ वटा भालेसहित ८४ वटा पाठा वितरण गरिएको हो ।
नगर प्रमुख दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष दण्डपाणि रिजालले कृषिको व्यावसायिकीकरण क्रममा ठुला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बङ्गुर वितरण गरिएको बताए । उनले बङ्गुरलाई ५ गुणाले वृद्धि गर्न सुझाव पनि दिए ।