भरतपुर, २५ वैशाख ।
कवि नरेन्द्र रानाको कवितासङ्ग्रह ‘ऊ र म’ लोकार्पण भएको छ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, नगर शिक्षा अधिकारी महेन्द्र पौड्याल, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाललगायतले कृति विमोचन गरेका हुन् ।
विमोचनपछि कृतिमाथि टिप्पणी गर्दै समीक्षक डाक्टर केशवराज चालिसेले रानाका कवितामा अस्तित्ववादी चेतना भएको बताए । ‘उहाँका कवितामा बिम्ब, उपमा, अलंकार सबै छन् । कविताहरू कविताजस्ता छन्’, डाक्टर चालिसेले बताए ।
अर्का वक्ता उदय अधिकारीले कवि रानाका कवितामा प्रेम, जीवन, जगत, दर्शन, देशप्रेम सबै समेटिएको बताए । ‘कवितामार्फत उहाँले प्रेम मात्रै होइन विद्रोह पनि अभिव्यक्त गर्नुभएको छ । कवि रानाको सरल र विद्रोही दुवै भाव कवितामा आएको छ’ अधिकारीले भने ।
कवि रानाले कवितासङ्ग्रहमा प्रेमिल कविताहरु पनि भएकाले यसको नाम ‘ऊ र म’ राखिएको प्रष्ट पारे । ‘यसभित्र राखिएका कविताको केन्द्रमा प्रकृतिप्रेम, देशप्रेम छन् । त्यसैले यस पुस्तकको नाम ‘ऊ र म’ राखिएको हो’ रानाले भने ।
कवि राना भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । झण्डै डेढ वर्ष कुशल प्रशासकका रूपमा यहाँ रहेका राना सरुवा भएर अर्थ मन्त्रालयमा जाँदैछन् ।
भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले भरतपुरमा छँदै एउटा कवितासङ्ग्रह प्रकाशित गर्छु भनी कवि राना वचनबद्ध रहेको र अहिले त्यो वचन पूरा गरेको बताए । मन्त्रालय जानुभन्दा अगाडि रानाको सम्मानमा कृति लोकार्पण र फेरि भेटौँला कार्यक्रम गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले बताए ।
कार्यक्रममा भरतपुर महानगर शिक्षा शाखा प्रमुख महेन्द्र पौड्यालले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रशासकीय जिम्मेवारीमा रहेका व्यक्तिको साहित्यिक कृति आउनु स्वागतयोग्य काम भएको बताए ।
भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा ३६ वटा कविता छन् । पुस्तकको मूल्य २ सय रुपैयाँ छ । कृति वितरणको जिम्मा सम्पूर्ण किताब नारायणगढले लिएको छ ।
कवि रानाको ‘ऊ र म’ कवितासङ्ग्रह लोकार्पण
कवि रानाको ‘ऊ र म’ कवितासङ्ग्रह लोकार्पण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस