चितवन, २४ वैशाख ।
नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन सम्पन्न गर्न बनेको प्रतिनिधि व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको छ ।
उपसमिति संयोजक श्यामकुमार विष्टको संयोजकत्वमा पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
जिल्ला पदाधिकारीको वैशाख २० गते बसेको बैठकको निर्णय अनुसार २९ गते एकैदिन जिल्ला भरी प्रतिनिधि छनोट गरिने छ । वडा कमिटीले २९ गते प्रतिनिधि छनोट गरेपछि जेठ दुई गतेभित्र प्रतिनिधिको नामलिस्ट जिल्लामा पठाइसक्नुपर्नेछ ।
उक्त नामलिस्ट जिल्लामा आइसकेपछि पुनः प्रतिनिधि व्यवस्थापन उपसमितिको बैठक बसेर प्रतिनिधिहरुको सम्पूर्ण विवरणको रेकर्ड व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।
सबै वडाहरुमा प्रमाणित पार्टी सदस्यहरुको विवरण, अनुमानित प्रतिनिधि संख्याको लिस्ट, प्रतिनिधिले भर्नुपर्ने फारम लगायतका समाग्रीहरु आजको दुई दिनभित्र पठाइसक्ने निर्णय समेत बैठकमा गरिएको संयोजक विष्टले जानकारी दिए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको विशेष उपस्थिति रहेको थियो । उक्त समितिका सदस्यहरुमा पालिका कमिटीका सबै पार्टी अध्यक्षहरु समेत रहेका छन् ।
जेठको १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुन लागेको हो । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।
अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्ति प्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।
यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ । एमालेले प्रत्येक ३/३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ ।