गैंडाकोट, २१ वैशाख ।
नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्च गैंडाकोटले सोही विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ ।
मञ्चले शुक्रबार विद्यालयमा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । कक्षा ८ को नगर स्तरीय परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गणेश अधिकारीले बताए । सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्येबाट ३.९७ जीपीए ल्याइ नगर प्रथम भएकी यसै विद्यालयकी छात्रा संगीता दाहाललाई सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई, प्रमुख अतिथि पूर्व प्रधानाध्यापक ईश्वरी रिमाल, गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र रेग्मीलगायतले टीका लगाइ सम्मानपत्र र नगद १० हजार रुपैयाँ दिएर छात्रा दाहाललाई सम्मान गरेका हुन् ।
त्यसैगरी उक्त परीक्षामा ए प्लस ल्याएका
विष्णु वाग्ले, भूपिन घिमिरे, मोमिला थापा, समीक्षा सिग्देल र देवीका गुरुङलाई नगद ३ हजार रुपैयाँ सहित सम्मान गरिएको छ । अनुशासित तथा जेहेन्दार छात्रका रूपमा ३ हजार रुपैयाँसहित निराजन पौडेल सम्मानित भएका छन् ।
`गुणस्तरीय प्राबिधिक शिक्षा विकासमा भूतपूर्व विद्यार्थीको भूमिका´ भन्ने अभियानका साथ मञ्चले आगामी दिनमा अझै धेरै कामहरू गर्ने सोच बनाएको मञ्चका अध्यक्ष अधिकारीले बताए । `विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त हुनुपर्नेमा हामीले पनि पहलकदमी गर्नेछौँ´, अधिकारीले भने – `अहिले शिक्षा आर्जनका लागि थुप्रै अवसरहरू छन् । विद्यार्थीले ती अवसरहरूको पहिचान र सदुपयोग गरी अगाडि बढ्नुपर्छ । कुनै पनि विद्यार्थीलाई शिक्षा आर्जनमा असजिलो भए हामीले सहयोग गर्नेछौँ ।´
मञ्चले अक्षयकोष बनाएर काम गर्ने योजना बनाएको मञ्चका सचिव एवम् कार्यक्रम सम्योजक प्रेम सापकोटाले बताए । यसका लागि पूर्व विद्यार्थीहरू आर्थिक सङ्कलन अगाडि बढाइएको सापकोटाले बताए । कार्यक्रममा मन्तव्य राख्दै पूर्व प्रधानाध्यापक ईश्वरी रिमालले पूर्व विद्यार्थीहरूले सङ्गठन बनाएर सामाजिक काममा जुटेकोमा खुसी व्यक्त गरे । उनले मञ्चको अक्षयकोषमा ५० हजार ७५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित चेक हस्तान्तरण गरे । त्यसैगरी वडाध्यक्ष सुरेन्द्र रेग्मीले पनि मञ्चको अक्षयकोषमा २० हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले पनि ५ हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन् । विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराईले पूर्व विद्यार्थीको अभियान प्रसंशनीय भएको बताउँदै पूर्व विद्यार्थीहरू यस विद्यालयका अभिभावक भएको बताए ।