भरतपुर १९, वैशाख ।
भरतपुर महानगरपालिकाले सार्वजनिक यातायातहरूमा भ्रमण भरतपुर वर्षको लोगो अङ्कित स्टिकर टाँस्न शुरु गरेको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि भरतपुर महानगरपालिकाले वडा नम्बर ९ स्थित केन्द्रीय बस टर्मिनलमा एक कार्यक्रमको आयोजना गरि सवारीसाधनमा स्टिकर टाँस्न शुरु गरेको हो । भरतपुर भएर चल्ने लामो तथा छोटो दुरिका सबै सार्वजनिक यातायातमा स्टिकर टाँस्न शुरु गरेको महानगरपालिकाले जनाएको छ । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सार्वजनिक सवारीका साधनमा स्टिकर टाँसेर कार्यक्रमको शुरुवात गरेका हुन् ।
`केन्द्रीय बस टर्मिनलसँगै वडा नम्बर १ र ३ को सिमानामा पर्ने पुल्चोक तथा वडा नम्बर १ को नारायणगढ बसपार्क (पोखरा बसपार्क) लगायतका स्थानहरुबाट पनि स्टिकर टाँस्न शुरु गरिएको छ´, नगर उपप्रमुख अधिकारीले भने – `यो शुरूवात मात्रै हो, यसलाई महानगरले अभियान कै रुपमा लैजान्छ ।´
`विश्व कै ध्यान अहिले भरतपुर महानगरपालिकामा केन्द्रित छ´ उनले भने- `भरतपुर भ्रमण वर्षलाई सबै पक्षले निकै अर्थपूर्ण रुपले हेरेका छन् । हामीले भ्रमण बर्षलाई ऐतिहासिक वर्षका रुपमा लिएका छौँ,आन्तरिक तथा बाह्य पर्यटकहरुले सम्झन र चर्चा गर्न लायकको महानगर बनाउने छौँ ।´
बुधबार एकै दिनमा लामो तथा छोटो दुरिका सयौँ सार्वजनिक सवारीमा भ्रमण वर्षको लोगो अङ्कित स्टिकर टाँस गरिएको नगर प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालले बताए । `यो अभियानलाई हामी निरन्तर रुपमा अगाडी बढाउने छौं । समृद्ध महानगर निर्माणमा यो अभियानले खास टेवा पुर्याउने हुँदा यसलाइ भरतपुर महानगरले गौरवको अभियानका रुपमा लिइएको छ´, ढकालले भने ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष कोपिला दुरा, सामान्य प्रशासन महाशाखाका प्रमुख उपेन्द्रराज पौड्याल, कृषि महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेल, योजना महाशाखा प्रमुख ओमप्रसाद पाण्डे, नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, पर्यटन बिज्ञ सल्लाहकार बिश्व सुवेदी, जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदी, होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके, होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्णप्रसाद भट्टलगायतको उपस्थिति रहेको थियोे ।