मकवानपुर, ११ वैशाख ।
बागमती प्रदेशका ३ वटा जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, रामेछाप र चितवन जिल्लामा भएका विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–७, दुवाचौर काफ्लेखोला जंगलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४७ वर्षीय विष्णु बहादुर अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
अधिकारी वैशाख १ गतेदेखि बेपत्ता भएकोमा सोमबार बिहान १० बजेर ४५ मिनेटको समयमा घरबाट ७ सय मिटर पर मृत अवस्थामा फेला परेका थिए । मुचुल्कापश्चात शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२, रोशी राङदहमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६६ वर्षीय कृष्ण बहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । भुजेल आइतबार आफू खुशी घरबाट हिँडेकोमा सोमबार निर्माणाधिन दुगड हाईड्रोपावर लिखु–१ ड्यामको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिरी अस्पताल दोलखा लगिएको छ ।
चितवनको भरतपुर महानगरपलिका–११, गोर्खाली टोलमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका–३, धारापानीका ६० वर्षीय भोजबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो ३ बजेको समयमा गुरुङ घरपैँचो (पुजा) मा आएकोमा घरको भर्याङ चढ्ने क्रममा चक्कर लागेर बिरामी भएका थिए । गुरुङलाई उपचारका लागि नयाँ मेडिकल कलेजमा लगिएकोमा दिउँसो ३ बजेर २७ मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुषको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ । सोमबार बाह्रघरेबाट बेलचोकतर्फ जाँदै गरेको ना ६५ प ६२०६ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–९, बसन्तचोक बस्ने ४९ वर्षीय सन्तोष बुर्लाकोटी र मोटरसाइकलको पछाडी सवार मकवानपुरको मनहरी गाउँपालिका–३, का ३३ वर्षीय सुदर्शन अधिकारी घाइते भएका थिए । घाइते ३ नै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा साइकलयात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।