चितवन, वैशाख ११ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निर्माणका आयोजना अघि बढेको बताएकी छन् ।
लोकतन्त्र दिवसको अवसरमा भरतपुर–१२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन् । पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धलगायत धेरै काम अनवरत पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ ।
नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भइसक्दा पुलचोक गोन्द्राङ सडक बिस्तारको काम भएको थिएन । संघीय बजेट भए पनि महानगरले नेतृत्व लिएको उनले प्रष्ट पारिन् । ‘विमानस्थल बिस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले बिस्तारको काम सुरु भएको छ’ उनले भनिन्, ‘रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरी देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौं ।’
‘काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ’ उनले भनिन्, ‘काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ । यो छुट्टाउने काम जनताको हो । जनता जनार्दन हुन् ।’ भरतपुरमा पछिल्लो ७ वर्षमा धेरै काम भइसकेको र बाँकी ३ वर्षमा पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धारणा थियो ।
जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ ।