लमजुङ, ११ वैशाख ।
कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लमजुङको भुजुङ गाउँमा आज मंगलबार चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् ।
शुभ मुहुर्तसँँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाईएको बताए ।
नायक सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भन्दै यस चलचित्रमा पनि केही फरक देख्न सकिने बताए । सामान्य कथालाई उत्कृष्ट ढङ्गले बुनिएको भन्दै दर्शकले चलचित्र रुचाउने उनको विश्वास छ ।
कलाकार लक्ष्मी गिरीले चलचित्र रमाइलो बन्ने बताइन् ।
सामाजिक संजालको दुरुपयोगले समाजमा पार्ने असर र सदुपयोगको फाइदालाई चलचित्रमा उतार्न खोजिएको उनको भनाइ थियो । चलचित्रमा सौगात र लक्ष्मी आमा छोराको भूमिकामा छन् ।
चलचित्रमा सौगात र लक्ष्मीसँँगै सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतको पनि मूख्य भूमिका छ । लामिछाने र विशाला ताम्राकारको निर्माण रहेको चलचित्रमा अमर महर्जनको छायांकन रहनेछ ।
द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायाङ्कन लमजुङको भुजुङ गाउँमा हुनेछ । साथै गोरखा र चितवनमा पनि छायांकन हुने निर्देशक निगम श्रेष्ठले बताए ।