भरतपुर, १० वैशाख ।
औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ अन्तर्गत चौथो दिन “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” विषयक सेमिनार सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले विगतका केही वर्षदेखि उद्योग, व्यवसायको क्षेत्रमा शिथिलता आएको, कुल ग्राहस्थ उत्पादनमा १६ प्रतिशतसम्म योगदान गरेको उद्योग क्षेत्रबाट कुल ग्राहस्थ उत्पादनमा विगतका केही वर्षदेखि ५ प्रतिशतको हाराहारी मात्र योगदान हुनुले स्वदेशमै गरी खान्छु भनी लागेका उद्योगीहरु समेत बिस्थापित हुने अवस्थामा रहेको बताए ।
उनले कोभिडले थलिएको अर्थतन्त्र तङ्ग्रन नपाउँदै विश्वमा फैलिएको आर्थिक मन्दीको लहरको प्रभाव नेपालमा पनि परेसँगै करीब ३० प्रतिशत उद्योगहरु बन्द भैसकेको, सञ्चालनमा रहेका उद्योगहरु पनि ४० प्रतिशतदेखि ५० प्रतिशतको क्षमतामा मात्र सञ्चालित रहेको र उपभोग गर्ने मुख्य उमेर समूहका ३० प्रतिशतको हाराहारीमा जनसंख्या रोजगारीको नाममा विदेशिएको समेत बताए ।
न्यौपानेले अनुदानका नाममा कागजमा उद्योग व्यवसाय देखाएर अनुदान लिने प्रवृतिलाई निरुत्साहित गर्न उत्पादन परिमाणका आधारमा जारी बिक्री बिललाई आधार बनाउनु पर्ने, धितो कर्जाको लागि अचल सम्पत्ती जोड्नु पर्ने बाध्यताले चालु पूँजी जग्गा खरिदमा खर्चेका कारण उद्योग, व्यवसायमा चालु पूँजीको अभाव भईरहेकाले परियोजना कर्जालाई उच्च प्राथमिकता साथ लगानी गर्नुपर्नेमा जोड दिए ।
कृषि क्षेत्रका उद्योगीहरुले सहुलियतपूर्ण कर्जाको सुविधा प्रयोग गरेको भए पनि विगत डेढ वर्षदेखि बैंकहरुले ब्याजको रकम फिर्ता नगरेको, सहज परिस्थिति हुँदा लिएको कर्जाको ब्याजको भार अहिलेको विषम परिस्थितिमा सामना गर्नु परिरहेको हुँदा उद्योगी, व्यवसायीहरुलाई कर्जा लिने प्रयोजनमा विमा अनिवार्य गरिएको भएता पनि क्षतिपूर्ति दावीका लागि झन्झटिलो प्रक्रिया र क्षति नपाउने अवस्थाले उद्योगीहरु प्रताडित रहेको उनले बताए ।
अध्यक्ष न्यौपानले प्रदेश सरकारको ईआईएको नाममा उद्योगीहरुले वर्षौं दिन समस्या भोगिरहनु परेको, छिटोछरितोरुपमा उक्त कार्य सम्पन्न गराउने व्यवस्थाको लागि प्रदेश सरकार गम्भीर हुन र देशभरका स्थानीय पालिकाहरुमा उद्योग ग्राम बनाउने सरकारको विगतको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिएको भए पनि कुनै पालिकामा उद्योग ग्रामको सञ्चालन हुन नसकेको विषयमा आफ्ना धारणाहरु राखेका थिए ।
आर्थिक पत्रकार एवम् कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडे मोडेरेटरको रुपमा रहेको सेमिनारको मुख्य वक्ता राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न सरकारी तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका” को विषयमा भर्चुअल माध्यमबाट आफ्नो भनाई राखेका थिए ।
सेमिनारको प्यानलिष्टको रुपमा रहेका बागमती प्रदेश, नीति तथा योजना आयोग उपाध्यक्ष डा. नरविक्रम थापाले “बागमती प्रदेश सरकारको औद्योगिक नीति तथा वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधि चलायमान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका” विषयक, नेपाल राष्ट्र बैंकका नेपाल राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न नेपाल राष्ट्र बैंकले खेलिरहेको भूमिका र आगामि कार्ययोजना” विषयक, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन नीजि क्षेत्रले गरेको प्रयास र तीनै तहका सरकारसँगको अपेक्षा” विषयक, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले “स्थानीय सरकारको औद्योगिक नीति, स्थानीय स्तरमा औद्योगिक विकासको लागि स्थानीय सरकारले खेलिरहेको भूमिका र प्रदेश तथा संघीय सरकारसँग अपेक्षित कानून” सम्बन्धित शीर्षकमा रहेर आफ्ना धारणा राखेका थिए ।
सेमिनारमा उपस्थिति सहभागीहरुले आफूहरुलाई लागेका जिज्ञासाहरु राखेका थिए । प्राप्त जिज्ञासाको आधारमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुबाट सम्बोधन गरिएको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेको सेमिनारको चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक नीति निर्माण समन्वय तथा अनुसन्धान विभागका विभागीय प्रमुख गोपालप्रसाद गैरेले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।