मकवानपुर, १० वैशाख ।
मकवानपुरको हेटौंडामा रहेकाे महिलाहरुको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले ९ जनालाई पुरस्कृत र सम्मान गर्ने भएको छ । पुञ्जले सोमबार हेटौंडामा पत्रकार भेटघाट गरी २०८१ सालमा प्रदान गरिने सम्मान र पुरस्कारको जानकारी दिएको हो ।
पुञ्जले स्थापना गरेको ८ वटा पुरस्कार र एउटा सम्मानबाट ९ जना सम्मानित हुने पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिइन् । उनका अनुसार हरिवंश भेटवाल र विजुला भेटवालले स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहटकी स्रष्टा रेनुका जीसी सम्मानित हुने भएकी छिन् । उक्त सम्मानको राशि १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यसैगरी प्रतिभा धिताल छन्द सम्मान २०८० बाट नुवाकोटकी साहित्यिक स्रष्टा सुमित्रा सुमी सम्मानित हुने भएकी छिन् । मुना अर्यालले स्थापना गरेको उक्त सम्मानको राशि १० हजार रुपैयाँ रहेको छ । यस्तै ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०८० बाट मकवानपुरकी पत्रकार सरिता दाहाल सम्मानित हुने भएकी छिन् । ७ हजार पाँच सय रुपैयाँ राशिको उक्त सम्मानलाई अप्सरा तिम्सिना लम्साल र प्रकाश लम्सालले स्थापना गरेका हुन् ।
टीकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान-२०८० बाट काठमाडौैकी स्रष्टा प्रभा बराल सम्मानित हुने भएकी छिन् । रुकु कार्कीले स्थापना गरेकाे उक्त सम्मानकाे राशि ११ हजार १ सय ११ रुपैयाँ रहेकाे छ । यस्तै अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०८० बाट नेत्र एटम काठमाडौं सम्मानित हुनेछन् । ११ हजार १ सय ११ रुपैयाँ रहेकाे उक्त सम्मानकाे स्थापना गजाधर तिम्सिना र यशाेधरा तिम्सिनाले गरेका हुन् । मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान २०८० बाट प्रसिद्ध लामिछाने सम्मानित हुने भएका छन् । मकवानपुरका स्रष्टा लामिछानेलाई देवप्रसाद श्रेष्ठले स्थापना गरेको ३ हजार ५ सय रुपैयाँ राशिकाे उक्त सम्मान प्रदान गरिने छ ।
मुक्ति-तारा नवप्रतिभा सम्मान-२०८० बाट मकवानपुरकी स्रष्टा स्वस्तिका बानियाँ सम्मानित हुने छिन् । ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मानका स्थापना मुक्तिगाेविन्द वैद्य र तारादेवी वैद्यले गरेका हुन् । मकवानपुरका स्रष्टा दीपक गौतमलाई सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० प्रदान गरिने छ । १० हजार रुपैयाँ राशि रहेकाे सम्मानकाे संस्थापक चन्द्रकिरण श्रेष्ठ र मेनुका शर्मा हुन् । यस्तै आँचल सम्मान २०८० बाट हरिवंश भेटवाल सम्मानित हुने भएका छन् । उक्त सम्मान आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेकाे हाे ।