गैंडाकोट, ७ वैशाख ।
नारायणी नदी किनार गैंडाकोटमा जल उद्धार अभ्यास कार्यक्रम गरिएको छ । विपतको बेला कसरी उद्धार गर्न सकिन्छ भनी एकीकृत सिमुलेशन अभ्यास सहित कार्यक्रम गरिएको हो ।
वर्षाका कारण जलमग्न भएको बेला डुबानमा परी विपतमा परेकाहरुको उद्धार, डुबेका व्यक्तिको उद्धारलगायत जिल्लामा आईपर्ने विभिन्न विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्व तयारी निमित्त अभ्यास गरिएको हो ।
जिल्ला विपद व्यावस्थापन समिति नवलपरासी वर्दघाट सुस्तापूर्व, गैंडाकोट नगरपालिका, नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण, जिल्ला प्रहरी कार्यलय, सशस्त्र प्रहरी वल नेपाल नम्बर ३१ गुल्म हेड क्वाटर र नेपाल रेडक्रस सोसाइटी जिल्ला नवलपुरको संयुक्त एकीकृत सिमुलेशन अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले यस्ता अभ्यासले आगामी दिनमा आइपर्ने आपतविपदमा सहयोग पुग्ने विश्वास लिए । नगरले जनताको जिउधनको सुरक्षा तथा उद्धारमा आवश्यक भौतिक तथा आर्थिक पक्षको राम्रो व्यवस्थापन गरेको पनि उनले जानकारी दिए ।
संयुक्त जल उद्धार अभ्यास कार्यक्रमलाई सहजीकरण गरेका संघ-सस्थाका प्रमुख, जनप्रतिनिधि, रेडक्रसकर्मी, समाजसेवी तथा सामाजिक क्षेत्रका विभिन्न तह र तप्काका प्रतिनिधिहरुको उक्त कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।