मकवानपुर, ५ वैशाख ।
हेटौंडामा भएकाे चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ काे पोल्टामा परेकाे छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएकाे खेलमा सडनडेथमा वडा नम्बर ४ ले र वडा नम्बर १४ लाई ६–५ गोल अन्तरले पाखा लगाउंँदै उपाधि जितेकाे हाे ।
उपाधिसँगै वडा नम्बर ४ ले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडा नम्बर १४ ले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियाेगिताका विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाले पुरस्कार वितरण गरेका थिए ।
फाइनलखेलकाे निर्धारित समयमा दुबै टिमले १/१ गाेलकाे बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । खेलको ६२ औं मिनेटमा वडा नम्बर ४ का लागि दीपेश भण्डारीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । खेलकाे निर्धारित समयकाे १० मिनेट बाँकी रहँदा उपविजेता टोलीका लागि अनुप राना मगरले गोल गर्दै खेललाई बराबरी गरे । ट्राइब्रेकरमा २–२ गोलकाे बराबरी भएपछि सडनडेथबाट उपाधिकाे छिनाेफानाे भएकाे हाे ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रतियोगिताको साविक उपविजेता वडा नम्बर १५ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै १४ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । यस्तै, मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १३ लाई सडनडेथमा ५–४ गोलले हराउँदै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाकाे सहयाेग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा हुने
प्रतियोगिताअन्तर्गत् तृतीय स्थानका लागि बुधबार बिहान भएकाे खेलमा बडा नम्बर १५ ले वडा नम्बर १३ लाई हराएकाे थियाे । उपमहानगरपालिकाका १९ वटै वडाकाे सहभागिता रहेकाे खेलकाे उद्घाटन गत २४ गते भएकाे हाे । तृतीयस्थानमा रहेकाे वडा नम्बर १५ ले ५० हजार रुपैया प्राप्त गर्दा चौथोस्थानमा रहेकाे वडा नम्बर १३ ले २५ हजार रुपैयाँ प्राप्त गरेकाे थियाे ।