भरतपुर, ३ वैशाख ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ ले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउन शुरु गरेको छ । सोमबार भरतपुर २७ मेघौलीमा समितिले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउन शुरु गरेको हो । सोमबारबाट शुरु भएको रजत जयन्ती समारोह मङ्गलबारसम्म चल्ने छ ।
रजत जयन्तीको अवसरमा रजत स्तम्भ अनावरण गर्दै भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई नीतिगत रुपमै समाधान हुनेगरी ठोस निर्णय गर्न आवश्यक रहेको उल्लेख गरे । `वन्यजन्तुसँगै निकुञ्जको पनि संरक्षण हुनु आवश्यक छ´, उमप्रमुखले भने – `तर मानवीय क्षतिका सम्बन्धमा पनि नीतिगत रुपमै गहन छलफल हुन जरुरी छ ।´
चितवनमा वार्षिक ३ लाख आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अविनाष पुर्जा थापा मगरले जानकारी दिए । उनका अनुसार वार्षिक ३ लाख पर्यटकहरु भित्रीँदा ३० करोड राजश्व संकलन हुने गरेको छ । चालु आर्थिक वर्षको फागुन महिनाको अन्त्यसम्ममा २ लाख १५ हजार आन्तरिक तथा बाह्य पर्यटकहरु चितवन आएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । जसबाट २६ करोड राजश्व पनि संकलन भएको छ ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व सांसद कृष्णप्रसाद भुर्तेल,भरतपुर २८ का वडा अध्यक्ष दण्डपाणि रिजाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अविनाष पुर्जा थापा मगर, सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी, समितिका निवर्तमान अध्यक्ष श्यामप्रसाद अधिकारी, समितिका उपाध्यक्ष लोकनाथ सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत २२ वटा उपभोक्ता समितिहरु रहेका छन् । कार्यक्रम समितिका अध्यक्ष मायाराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको कारण २५ वर्षको अवधिमा २१ जनाको मृत्यु भइसकेको निकुञ्ज प्रशासनले जनाएको छ ।