काठमाडौं, ३ वैशाख ।
नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएकाे छ । नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रुकाे उद्घाटन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।
यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गकाे उद्घाटन आज भएकाे हाे । अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ ।
यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो । तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो ।
स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो । यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ ।
२२ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लागतमा यो परियोजना बन्दै छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गरेको छ । यो आयोजना बनाउन विभाग र निर्माण कम्पनीबीच सेप्टेम्बर ०१९ मा सम्झौता भएको थियो ।
ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको साढे तीन वर्षपछि मुख्य टनेल ब्रेक थ्रु भएकाे हो ।