मकवानपुर, २ वैशाख ।
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगितामा बागमती प्रदेशले प्रथम स्थान हासिल गरेकाे छ । बागमतीले कुल पदक मध्ये ६१ स्वर्ण, ४३ रजत र ३६ कास्य गरी कुल १४० पदकका साथ प्रथम स्थान हासिल गरेकाे हाे ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा चैत २५ गतेबाट सुरु प्रतियाेगिता अन्तरगत पुरुष फुटबलकाे फाइनल खेल आइतबार हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएकाे हाे । पुरुष फुटबलकाे फाइनलमा बागमती र काेशी प्रदेशबीचकाे प्रतिस्पर्धामा काेशीले बागमतीलाई पाखा लगाउँदै स्वर्ण पदक हात पारेकाे छ ।
प्रतियाेगितामा सुदुरपश्चिम प्रदेशले कुल ७१ पदक सहित द्वितीय स्थान हासिल गरेकाे छ । सुदुरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कास्य पदक प्राप्त गरी द्वितीय भएकाे हाे । यस्तै प्रतियाेगितामा काेशी प्रदेश तृतीय स्थानमा रहेकाे छ । काेशी १६ स्वर्ण, २३ रजत र ३६ कास्य पदकका साथ तृतीय स्थानमा रहेकाे छ ।
यसैगरी गण्डकी ११ स्वर्ण, १८ रजत र २० कास्यसहित ४९ पदकका साथ चौथो स्थानमा रहँदा लुम्बिनी ११ स्वर्ण, १६ रजत र २८ कास्य गरी कुल ५५ पदकका साथ पाचाैं स्थानमा रहेकाे छ भने कर्णाली ११ स्वर्ण, १० रजत र २४ कास्य पदकका साथ छैटौं स्थानमा रह्याे । यस्तै मधेस प्रदेश प्रतियाेगिताकाे पदक तालिकामा अन्तिममा रहेकाे छ । उसले ३ स्वर्ण, ३ रजत र १५ कास्य पदक प्राप्त गरेकाे छ ।
बागमतीले महिला भलिबलमा १ स्वर्ण, बक्सिङ्गमा ९ स्वर्ण ६ रजत र ६ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ४ कास्य, तेक्वान्दाेमा ७ स्वर्ण, ४ रजत र ९ कास्य एथलेटिक्समा ७ स्वर्ण, ७ रजत र ८ कास्य, पौडीमा २७ स्वर्ण, १९ रजत र ७ कास्य र बाडमिन्टनमा १ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै प्रथम भएकाे हाे ।
यस्तै सुदुरपश्चिमले महिला क्रिकेटमा १ स्वर्ण, बक्सिङमा ३ स्वर्ण, १ रजत र ६ कास्य, कराँतेमा ३ स्वर्ण, २ रजत र ५ कास्य, तेक्वान्दाेमा ५ स्वर्ण, ३ रजत र २ कास्य, एथलेटिक्समा ६ स्वर्ण, ६ रजत र ६ कास्य, पौडीमा ३ स्वर्ण, ८ रजत र ७ कास्य, बाडमिन्टनमा २ कास्य, महिला फुटबलमा १ रजत, पुरुष भलिवलमा १ कास्यसहित प्रतियाेगिताकाे द्वितीय स्थानमा रहेकाे हाे ।
प्रतियाेगितामा काेशीले पुरुष फुटबलमा १ स्वर्ण, महिला फुटबलमा १ स्वर्ण, महिला क्रिकेटमा १ रजत, पुरुष भलिबलमा १ रजत, बक्सिङमा २ स्वर्ण, ५ रजत र ६ कास्य, करातेमा १ स्वर्ण, ६ रजत र ६ कास्य तेक्वान्दाेमा ५ स्वर्ण, २ रजत र ६ कास्य, एथलेटिक्समा २ स्वर्ण, ४ रजत र २ कास्य, पौडीमा ३ रजत र १३ कास्य ब्याडमिन्टनमा ४ स्वर्ण, १ रजत र ३ कास्यपदक सहित तृतीय स्थानमा रहेकाे छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेल समावेश गरिएकाे थियाे । पुरुष फुटबलबाहेकका ८ वटा खेलकाे प्रतिष्पर्धा चितवनमा भएका थिए ।
भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चैत्र २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरी सुरु प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तरगत पुरुष फुटबलकाे फाइनलसँगै आइतबार गौरीटार रंगशाला हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समापन गरे ।