भरतपुर, ३० चैत ।
पत्रकार तथा कथाकार वसन्त पराजुलीले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखालाई किताब र किताब सजाउने आकर्षक दराज उपलब्ध गराएका छन् । नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय सदस्य पराजुलीले महासङ्घ चितवन शाखाका कार्यबाहक अध्यक्ष प्रकाशमणि ज्ञवालीमार्फत शुक्रबार किताबसहितको दराज उपलब्ध गराएका हुन् ।
पराजुलीले पत्रकारहरुलाई अध्ययन र सिकाइ सहजीकरण हुने विभिन्न बिधाका किताबहरू हस्तान्तरण गरेका हुन् । `जन्मदिनको अवसरमा आफ्नै पेशागत सङ्घकोे लागि केही गरौं भनेर सानो सहयोग गरेको हुँ´, पराजुलीले भने । उनले विगतका जन्मदिनमा पनि सामाजिक तथा परोपकारका कामहरु गरेर मनाउँदै आएको बताए ।
पराजुलीले दुइ दशकदेखि चितवनमा सक्रिय पत्रकारिता गरिरहेका छन् । गोरखापत्र दैनिकका लागि नारायणगढ समाचारदाताको रुपमा कार्यरत उनी साहित्य लेखनमा पनि सक्रिय छन् । उनका कुमाता, मोम्चो र िड्र्मी आइज गरी तीनवटा कथासङ्ग्रह प्रकाशित छन् ।
पुस्तक हस्तान्तरण कार्यक्रममा कार्यबाहक अध्यक्ष ज्ञवालीले जन्मदिनमा पुस्तक प्रदान गर्नु राम्रो विषय भएको बताए । जन्मदिनलाई तडकभडक गरी मनाउनुभन्दा सामाजिक र अनुकरणीय काम गरी सादगी तरिकाले मनाउनुपर्ने उनको भनाइ थियो ।