(होइन यो विज्ञापन, न हो कुनै आत्मप्रशंशा ।
होइन यो सैद्धान्तिक व्याख्या, न हो कोरा गफ ।
मलाई चिनाउनु छैन यहाँ निसमालोचना, न गर्नु छ बकबक ।
डाक्टर जीवनको आख्यानमाथि चलाउनु छ भुत्ते कैँची ।
घोप्नु छ आख्यानको डाक्टरलाई कविताको छुरी ।
म पनि कवि थिएँ उहिले उहिले ।
दिनु छ दह्रो प्रमाण र चिरफार जो गर्नु छ आफ्नै तरिकाले ।
होसियार, डाक्टर साब नलड्नु चौरास्तामा ।
धेरै छैन बोल्नु, चरैवेति, चरैवेति ।)
० ० ०
१. बोकेर मनभरि छपक्कै आस्थाका बीउहरू
थाँती राखेर विश्वासको धरहरा
उमारेर मनको मझेरीमा सतबिजको जमरा
ढाँटेर छपक्कै आफ्नै मनलाई
लुकेर आफैँदेखि नि…कै प…र
यो धरामा निर्लिप्त बाँच्न
साँच्चै गाह्रो हुनेरहेछ हगि जीवनजी !
२. कथाबाट थालेको यात्रा
किन मोडियो समीक्षातर्फ ?
कति लेख्नु समालोचना ?
कति गर्नु अर्काको कुरा मात्र ?
हो, जीवन जीवन्तजी
अब, हरेक समालोचक
आउनुपर्छ सिर्जनामा
जीवनरूपी महाकाव्यलाई
उतार्नुपर्छ हाम्रो साहित्यमा
रोप्नुपर्छ साहित्यका थरिथरि नयाँ फूल
यहाँले रोपेजस्तै उपन्यासको बिउ
रोपून् अन्य समालोचकले पनि
र बनोस् नेपाली साहित्य हराभरा
चरैवेति, चरैवेति ।
३. ‘चरैवेति’का यात्रीहरू
बाबु हुन् कि छोरा
बेनामे बाँचेका छन् गाउँबस्तीमा
नामै दिन पनि किन हिचकिचाउँछन् लेखक ?
‘बाइबले बा’ यो पनि कुनै नाम हो र ?
म, मेरा बा यो पनि सामाजिक पहिचान हो र ?
म किन कुरा बुझ्दिनँ हँ ?
पहिचानको कुराले रन्थन्याउँछ मेरो मगज
कि मलाई मात्रै यस्तो भएको हो ?
४. आपत् विपत् छैन कोसँग ?
जन्मने मर्ने हुँदैन कसकोमा ?
को सक्छ रिसाएर
आफ्नै कुलदेउता मिल्काउन ?
को गर्न सक्छ यस्तो विद्रोह ?
के आस्था पनि आफ्नै लागि मात्र हो र ?
घरबाट देउता निकालेपछि
दाजुभाइले कुलबाट किन ननिकालून् ?
त्यसपछि किन भत्किँदैन विश्वासको महल ?
आस्था भत्केर रन्थनाएकालाई
उल्टै ‘बाइबले’ भनेर गाली गरेपछि
जो पनि बन्छ धर्मविरोधी
हो, यसरी बन्यो कोही ‘बाइबले बा’ ।
५. गरेपछि दाजुभाइले कुलबाट वहिष्कार
बस्न नदिएपछि आफ्नै घरमा
झरेको हो मधेस
फाँडेको हो जङ्गल
गरेको हो दुःख
त्यही दुःखमा पनि शत्रु लागेपछि
दशैँमा जमरा लिन आधारातमा गाउँ पुग्दा
बाबु र भाइहरूले लिएपछि हुर्मत लिएपछि
भत्केको हो आस्था
छिमेकीको सङ्गतले बनेको हो विश्वासी ।
६. पाएपछि अनेकौँ हण्डर
खाएपछि हजारौँ ठक्कर
झेल्नु परेपछि अगणित समस्या
विरोधी भएपछि कठोर राज्यसत्ता
परेपछि अन्धो ग्रामीण सत्ताको कोपभाजनमा
मनमनै जन्माएको हो नयाँ प्रभु
मान्न थालेको पिता परमेश्वर
र बनेको हो ऊ कट्टर ईसाई ।
७. नमानेपछि पुरातन चाडपर्व
परेको हो ऊ पुलिसको पक्राउमा
बिताएको हो सिङ्गो तिहार हिरासतमा
चर्चका साथीले गरेपछि वेवास्ता
गाउँलेहरूले गरेका हुन् उसको उद्धार
यसले बनाएको हो उसलाई मौन
मास्टर काइँलाको सङ्गतले
खुलेको हो उसको ज्ञानको द्वार
गरेपछि आफैँलाई प्रश्न
बनेको हो ऊ ज्ञानमीमांसु ।
८. नपढी ज्ञान पाइँदैन
नहेरी संसार देखिँदैन
पढेर र घुमेर बनेको हो
मास्टर काइँलाको विश्वास
उनले त्यसै भनेका होइनन् ः
“सत्य–बोधका निम्ति फराकिलो विचार चाहिन्छ,
धेरै पढ्नुपर्छ, संसार देख्नुपर्छ अनि आफैँ बोध हुँदै जान्छ ।” (पृ. २३०)
अन्धविश्वासले बनेको हो
ठुले राईको आस्था
पढेपछि हो फराकिलो भएको
गाउँमा छैन ज्ञानको विरासत
छ त केवल पण्डितहरूको हुकुमी शासन ।
९. चर्को हुनेरहेछ
पेटको भोकभन्दा ज्ञानको भोक
केवल खाँचो हुनेरहेछ
जगाउने मान्छेको
जागेपछि ज्ञानको भोक
आफैँ खोज्दो रहेछ शमनको वृत्ति
त्यही रहेछ मानवीय प्रवृत्ति
बुझ्दो रहेछ ः
“यहाँ प्रकृति छ अनि मान्छेको अस्तित्व छ ।
प्रकृति नहुँदो हो त मान्छेको कुनै अस्तित्व हुनै सक्दैन ।” (पृ. २३१)
ज्ञानले बनाउँदो रहेछ
मान्छेलाई प्रकृतिपूजक
प्रकृतिले दिँदो रहेछ
मान्छेलाई ज्ञान
खोलिदिँदो रहेछ उसको चक्षु–चक्र ।
१०. लेखेर नयाँ उपन्यास
जोडेर डायरीका पानाहरू
तोडेर सम्बन्धहरू
फोडेर विरूप संस्कृति
निचोरेर समाजका विकृति
निरन्तर गतिशील छ ‘चरैवेति’
लिएर आफ्नो पृथक् गति ।
११. प्रश्नहरू छन् मनभरि
‘चरैवेति’ किन लेखियो ?
आफ्नै बाजेका कथा भन्न ?
कि समीक्षकलाई उपन्यासकार बन्न ?
उपन्यासमा डायरी किन राखियो ?
बाबुको कथा छोरालाई भन्न अप्ठ्यारो लागेर ?
कि कथालाई रोचक बनाउन ?
सत्ताइस वटा डायरी मात्र किन राखेको ?
किन लेखियो एकै दिनमा त्यति धेरै ?
साउन महिनामा तिहार कसरी आउँछ ?
कसरी खेलिन्छ साउनमा देउसी ?
डायरी त त्यही दिनमा लेखिन्छ हैन र ?
जवाफ लेख्नुस् है लेखक महोदय !
१२. नाघेर घरको चौघेरा
छोडेर परिवारको साथ
पसेर निर्मम एकान्त
कहाँ पाइन्छ हँ ज्ञान ?
कहाँ छ त्यो चक्षु–चक्र ?
कसले गर्यो त्यसको आविष्कार ?
म पनि चाहन्छु ज्ञानी बन्न
कोही छ मलाई मार्ग देखाउने ?
कोही छ मेरा गुरु बन्ने ?
म चौबाटोमा उभिएको छु ।
० ० ०
(सकियो मेरो कविता, सकिएनन् मनका बहहरू ।
बाँकी छन् रमिता र भविताहरू ।
तपाईंसँग के बाँकी छ डाक्टर साब ?
कहिले गर्ने त्यसको हिसाबकिताब ?
पाठकगण कहिले गर्ने फैसला ?
सोच्दै गर्नु है जवाफ ।
शून्य शून्य छु म यता ।)
० ० ०