भरतपुर, २९ चैत ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनले आफ्नो ४४ औँ शिक्षक दिवस तथा २४ औँ जिल्ला परिषद् सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकार आर्थिक मामला तथा योजना मन्त्री जगन्नाथ थपलिया रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले समाज रुपान्तरणको सर्वाधिक महत्त्वपूर्ण शक्तिका रुपमा शिक्षकहरूको भूमिका सदैव रहने भन्दै शिक्षण कर्म अरु सबै पेशाको जन्मदाता रहेको उनको भनाइ थियो ।
उक्त कार्यक्रममा शिक्षक बुलेटिन नामक पत्रिकाको विमोचन समेत गरिएको थियो । बुलेटिनमा प्राज्ञिक क्षेत्रका अनुसन्धानात्मक लेख रचनाहरु समावेश गरिनुका साथै शिक्षक आन्दोलनको विरासत चर्चा गरिएको प्रकाशन समितिले जनाएको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय कोषाध्यक्ष सूर्यराज बराल, शिक्षाविद् रमाकान्त सापकोटा, भानुप्रसाद उपाध्याय, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था अध्यक्ष सिर्जना अधिकारीलगायत विभिन्न पालिकाका अध्यक्षहरुले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
चितवन जिल्लाभरीका ५० भन्दाबढी शिक्षकहरूलाई सम्मान गरिएको उक्त कार्यक्रम सङ्गठनका चितवन अध्यक्ष तेजेन्द्रप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सचिव तिलक कुँवरले सञ्चालन गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य उपाध्यक्ष रामजी भण्डारीले राखेका थिए ।