काठमाडौं, २८ चैत ।
खोजमूलक पत्रकारितामार्फत भ्रष्टाचार, अनियमितता उजागर गरे बापत पत्रकार दिलीप पौडेल शसक्त पत्रकारिता अवार्ड–२०८० बाट सम्मानित भएका छन् । पौडेललाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अवार्ड र प्रमाणपत्रले सम्मान गरेकी हुन् ।
बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंको आर्थिक व्यूरो प्रमुख छन् । नेपाल प्रेस युनियनका महासचिव रहेका पौडेलले बारबरा एडम्स खोज पत्रकारिता अवार्ड, सेजन अवार्ड, आर्थिक पत्रकारिता अवार्ड लगायतका विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन् ।
न्युज एक्सप्रेस मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८०’ समारोहमा नागरिकर्मी पौडेल सहित दर्जन बढी पत्रकारलाई विभिन्न विधामा मिडिया अवार्डबाट सम्मान गरिएको छ ।
कार्यक्रममा ९६ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई लाईफ टाइम एचिभ्मेन्ट अवार्ड, खबरहबका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलालाई पपुलर प्रोग्राम अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता वीरेन्द्र जैरुलाई जनआवाज मिडिया अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी उकालो अनलाइनकी दीपा दाहाललाई जोखिमपूर्ण पत्रकारिता अवार्ड, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई वरिष्ठ रङ्ग पत्रकारिता अवार्ड, कान्तिपुर दैनिक र द काठमाण्डु पोस्टका फोटो सम्पादक प्रकाशचन्द्र तिमिल्सेनालाई जोखिमपूर्ण फोटोपत्रकारिता अवार्ड, अर्थ सरोकार अनलाइनका प्रधान सम्पादकलाई आर्थिक डिजिटल मिडिया अवार्ड प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले राज्यमा भएका गलत क्रियाकलापको खबरदारी गर्नुपर्ने बताइन् । पत्रकारितामार्फत योगदान पुर्याएका पत्रकारलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियारले बताए ।