भरतपुर, २७ चैत ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंगलबारदेखि विक्रमबाबा पूजा एवम् मेला सुरु भएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुने गर्दछ । यस वर्ष पनि चैत कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ ।
मंगलबार भरतपुर महानगरपालिका उपप्रमुख एवम् मेला आयोजना मुल समारोह समितिका संयोजक चित्रसेन अधिकारीले एक कार्यक्रमका बिच विक्रमबाबाको पूजा आराधना गरी मेलाको शुभारम्भ गरे । मेलाको शुभारम्भ गर्नुहुँदै नगर उपप्रमुख अधिकारीले विक्रमबाबा सबैको आस्थाको केन्द्र भएको बताए । `हिजोका दिनमा थारु समुदायले मात्रै मनाउँदै र मान्दै आएको यस पर्वलाई अहिले सबै जातजातिहरुले उतिकै महत्वका साथ मनाउँदै आएको पाइन्छ´ उप प्रमुख अधिकारीले भने `विक्रमबाबा हामी सबैको आस्था र धरोहर पनि हो ।´
चैते दसैँमा हजारौं भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवन सहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।
मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । साँझ ५ वजे पछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।
विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति, सुख शान्तिलगायतका मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ । जानकारहरुका अनुसार वनाम गरेको आदीबासीहरुको (गुरौ) को बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गर्नाले मनले चिताएको पूरा हुन्छ भन्ने विश्वास पनि रहिआएको छ ।
चितवनको राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ ।
मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिएको छ । भक्तजनहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स,भइपरी आउने दैवी प्रकोप तथा उद्धार को लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रमबाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गरेको छ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ ।
झण्डै ७ लाख दर्शनार्थीहरुले मेला अवलोकन गर्ने अनुमान गरिएको कार्यसम्पादन समितिका सयोजक एवम् भरतपुर- २३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिए ।