भरतपुर, २७ चैत ।
दुग्ध व्यवसायमा देखिएका समस्याहरु र अबको बाटोको विषयमा विज्ञ र कृषकले बहस थालेका छन् । भरतपुर महानगरपालिका –६ देवनगरस्थित देवनगर दुग्ध उत्पादक सहकारीमा देवनगर, गीतानगर, पारसनगर र आसपासका क्षेत्रका किसानहरुको सहभागितामा किसानको समस्याको उठान गरिएको छ । डेमोक्रेटिक एग्रिकल्चारिस्ट एसोशियसन– नेपाल (डान) बागमती प्रदेशले कार्यक्रमको आयोजना गरेको हो । डानका केन्द्रीय सदस्य अञ्जन अधिकारीले दुग्ध व्यवसायमा समस्याहरु र समाधानका विषय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. सुबिर सिंहले डेरी क्षेत्रमा सूचना प्रविधिको प्रयोगबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा केन्द्रित रहेर किसान र बिज्ञ बीच छलफल गरिएको थियो ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक, राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमका संयोजक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, किसान महासंघका सचिव, सहकारी विभागका सदस्य, डान केन्द्रीय कमिटीका सदस्य सहभागी थिए । समितिका सह–संयोजक सरोज रेग्मीले कृषकको समस्या ओझेलमा परेको कारण विषय उठानसँगै समाधानको लागि आवाज उठाएको बताए ।
डान बागमती प्रदेश संयोजन समितिका संयोजक जीवन लामिछानेले किसानका तर्फबाट उठेका दुग्ध व्यवसाय सम्बन्धित गुनासो तथा समस्याहरूलाई लिपिबद्ध गरी प्रतिवेदनको रूप दिई कृषि मन्त्रालयमा बुझाउने बताए ।
प्रमुख अतिथि रहेका नेपाली काँग्रेस चितवनका उपसभापति शालिकराम शर्मा पौडेलले जिल्ला स्तरमा किसान मारमा परेको बताउँदै छिटो समाधान गर्न सबैले पहल गर्नुपपर्ने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमका संयोजक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, सहकारी विभागका सदस्यले डेरी क्षेत्रको महत्व वारे चर्चा गरे ।
डानका केन्द्रीय सदस्य रामहरि तिमिल्सिनाले अन्तर्क्रियाबाट आएका पृष्ठपोषण कृषि नीति तयार गर्नका लागि महत्पूर्ण रहने बताए ।