चैत २७, बर्दिबास ।
युरोपिएन युनियनका राजदूत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको विषय भएको बताएकी छिन् । मंगलबार बर्दिबास नगरपालिकामा आयोजित सरोकारबालासँगको छलफलमा राजदूत लोरेन्जोले सो कुरा बताएकी हुन् ।
वातावरण सबैका लागि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिमा पनि त्यस विषयले प्राथमिकता पाउनुपर्नेमा उनले जोड दिइन् । “वातावरणलाई चक्रीय अर्थतन्त्रसँग जोड्न सके यसले पर्यावरण संरक्षणसँगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ,” उनले भनिन् ।
त्यस्तै, नेपालका लागि जर्मन राजदूत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला व्यव्स्थापनको क्षेत्रमा गरेको कामका बारेमा जिज्ञासा राखेका थिए ।
बर्दिबास नगरपालिकाको उपमेयर तारादेवी महतोले नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसँग सहकार्य गरेर अगाडी बढिरहेको बताइन् । उनले फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम भइरहेको बताउँदै नीतिगत स्पष्टता सहित दीर्घकालीन व्यवस्थापनको आवश्यकता रहेको पनि औँल्याइन् ।
स्वेडन (दिल्ली) मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला व्यवस्थापन विश्वव्यापी समस्या भएको जिकिर गर्दै त्यसबारे नीतिगत रूपमा स्पष्ट हुन सके समस्या समाधान गर्न कठिन नहुने बताए ।
कार्यक्रममा फ्रान्सका राजदूत ग्लिज बोरबाउ र युरोपियन युनियन कोअपरेसन उपप्रमुख एलोइजा स्टुडिलोको पनि उपस्थित रहेको थियो । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना सञ्चालन गरिरहेको छ ।
छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका नगरपालिकाका विभिन्न चार विद्यालयका प्रधानाध्यापक सहित विधार्थीहरूको सहभागिता रहेको थियो । छनौट भएका उक्त चार विद्यालयहरूमा ‘क्लाइमेट स्मार्ट स्कुल’ परियोजना सुरु हुनेछ । जसअन्तर्गत विद्यार्थीहरूले प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापनका बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछन् ।