भरतपुर, २५ चैत ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडांैले आइतबार भरतपुरमा कृषकहरुसँग कृषि उपजमा विषादिको प्रयोग, त्यसको असर र दीर्घकालीन समस्याका बारेमा विशेष कार्यक्रम गरेको छ ।
समितिले पोष्ट हार्भेष्ट अभ्यास सुधार, बजार सम्बन्ध विकास र कालिमाटी बजार सम्बन्धमा कृषकहरुसँग फरक खालको कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले जानकारी दिए । ‘२०४३ साल असोज १५ गतेदेखि कालिमाटी बजार संचालनमा आएर देशभरका कृषक र कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु खरिद तथा बिक्री बितरण गर्दै आएको छ’ कार्यकारी निर्देशक पौडेलले भने, ‘समिति अब कृषकका समस्या समाधान गर्नेतर्फ केन्द्रीकृत भएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिका कृषि क्रान्तितर्फ केन्द्रीकृत भएको प्रष्ट पारे । ‘भरतपुर महानगरपालिका कृषिमा कायापलट हुने गरी कृषि क्रान्ति गर्न चाहन्छ’ उनले भने, ‘कृषि क्रान्तिबिना देशमा परिवर्तन असम्भव छ । देशलाई मजबुत र समृद्ध बनाउने हो भने सबैभन्दा पहिला कृषिमा आमूल परिवर्तन आउने गरि काम गर्न आवश्यक छ ।’
उनले कृषकहरुले उत्पादन गरेका कृषि वस्तुहरुको बजारीकरण गर्न र चिस्यान केन्द्रहरुको व्यवस्थापन गर्न महानगरपालिका तयार रहेको पनि उल्लेख गरे । चितवनबाट उत्पादन भएका तरकारी तथा फलफूलहरुलाइ काठमाडौं, पोखरासहित देशका मुख्य शहरहरुमा रहेका तरकारी बजारहरुमा स्टल राख्ने व्यवस्था मिलाउन महानगरले पहल गर्ने पनि उनले बताए ।
कार्यक्रममा भरतपुर २४ का अध्यक्ष राम गोदार, केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्थाका अध्यक्ष जनकराज पुरी, कृषि ज्ञान केन्द्र चितवन प्रमुख झलक कँडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मी लगायतले कृषि क्षेत्र र यससँग सम्बन्धित विभिन्न विषयहरुमा आआफ्नो धारणा राखेका थिए ।
समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीलाई
आधुनिक प्रविधिका एक सय थान क्रेट र तरकारीका बिउबिजनहरु हस्तान्तरण गरे ।
समितिले हाल देशका ४ स्थानमा कृषि बजार र निर्माणाधीन बजार क्षेत्रहरु संचालन गरी काम गरिरहेको छ । जस अन्तर्गत कालिमाटी बजारमा थोक कारोबार, बालाजु बजारमा खुद्रा कारोबार, चोभार बजारमा फलफूल तथा पुष्प बजार र नौबिसे केन्द्रमा प्रस्तावित संकलन केन्द्रबाट कृषकहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु बिक्री वितरण गरेर उपभोक्ताको भान्सामा पुर्याउने काम गरेको छ । समितिमा हाल ५ सय ९९ व्यवसायीहरु आबद्ध छन् ।