“बिना हवा हल्लेन पात गजब छ मान्छे,
प्रेममा कहाँ छ जात गजब छ मान्छे !” – किसानप्रेमी
म गजलको विद्यार्थी हुँ त्यसैले मलाई गजल औधी प्रिय लाग्छ । गजलकार किसानप्रेमीको माथिको शेरसँग म निकै परिचित छु । माथिको शेर पहिलोचोटि सुन्नुअघि मैले नेपाली गजलमा विशुद्ध प्रेम र प्रणयका कुरा सुन्दै र पढ्दै आएको हुँ । माथिको शेरले भने प्रेममा पनि जात खोज्ने हाम्रो नेपाली समाजको चित्र र चरित्र राम्ररी उदाङ्गो पारेको छ । यसले ममा गजलमा पनि प्रणयका कुरा छाडेर दलनका कुरासमेत ल्याउन सकिने रहेछ भन्ने चेत खुलाएको हो ।
म यहाँ किसानप्रेमीको प्रसङ्ग मात्रै उठाएर युवा गजलकार परिविक्रमका बारेमा कुरा गर्न खोज्दै छु । हो, यतिबेला मेरो हातमा गजलकार परिविक्रमको अङ्कमाल गजलसङ्ग्रह छ । यसको पछाडिको आवरणमा रहेका उनको गजलको यो शेरमा मेरो आँखा अडेको छ :
“मान्छ, मान्दैन जातले कुन्नि
मानिएको छु ज्यानले मान्छे ।”
यो एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि नेपाली समाजमा मान्छे हुन विकसित शरीरले मात्र नपुग्दो रहेछ, जात पनि उच्च हुनुपर्ने रहेछ । योभन्दा विडम्वनाको कुरा के हुन सक्छ ( दलितलाई मान्छे नै नमान्ने यो समाजको उछित्तो काढ्न योभन्दा बढी भनिरहनु पर्छ भन्ने लाग्दैन मलाई । आवरणमा यति सशक्त गजल राख्ने परिविक्रमको कृतिभित्र दलनको चित्रण के कसरी भएको छ ) भन्ने बारेमा मेरो ध्यान तानिएको छ यतिबेला ।
कूल १०० पृष्ठको आयाममा फैलिएको अङ्कमाल गजलसङ्ग्रहमा ८० वटा पूर्ण गजल, २० वटा मतला र ६० वटा फर्दहरु सङ्कलित छन् । तिनमा भावगत विविधता पाइन्छ । तर यहाँ मेरो ध्यान दलनका कुराले तानेको हुनाले आउनुस् पाठकवृन्द, मसँगै परिविक्रमले दलनका बारेमा के कस्ता शेरहरू रचेका छन् त ? त्यतातिर ध्यान दिऔँ ।
साक्ष्य : १
धागोहरू दिल सिएर बाँच्छन्
सियोहरू पिल्सिएर बाँच्छन् । (पृ. १५)
साक्ष्य : २
कसैको हृदयमा तिमी ठोकिएछौ
म त्यही चित्त ठोक्ने हतौडा हुँ । (पृ. ३०)
साक्ष्य : ३
घरभित्र पड्कियो बम साथी मर्यो जलेर
बाँचे दलित हुनाले लौ ! जात काम आयो । (पृ. ३७)
साक्ष्य : ४
अर्जाप्न जान्छ गर्दन नियाले पश्चात्
आरन हुने यो साथी खै के प्रयासमा छ < (पृ. ६६)
साक्ष्य : ५
दाप्दै थिए पैतलामा केही गर्न दिन्नौँ भनेर
ती छापले जुत्ता–चप्पल सिउने झन् आधार दिन्छन् । (पृ. ४९)
साक्ष्य : ६
कपडा सिएर जान्छु उल्टै अछूत भन्छन्
श्रीमान् ! त्यसैले तिनको थुतुनो सिएर आएँ । (पृ. ४३)
साक्ष्य : ७
मेरो नाम सम्झी थोरै याद आए
धेरै आए चाहिँ मेरै जात सम्झी । (पृ. ७४)
साक्ष्य : ८
बल्ल औकातमा मिल्न लाग्दा कुरा
बातमा जात आयो, तिमी आइनौ । (पृ. ६२)
साक्ष्य : ९
बाजाको तिम्रो बाले, तिमीले दियौ बिहेको
दुइटा सुपारी हेर्दै तौलिन्छ जिन्दगीले । (पृ. ४८)
माथि साभार गरिएका साक्ष्यहरूमध्ये पहिलो साक्ष्यमा सियो र धागोको कुरा गर्दै लुगा सिलाउने सन्दर्भ उठाइएको छ, जुन दलितसँग सम्बन्धित विषय हो । त्यस्तै दोस्रो साक्ष्यमा हतौडा हान्ने कुरा गरिएको छ, त्यो पनि दलितसँग सम्बन्धित छ । तेस्रो साक्ष्यमा घरभित्र बम पड्किएका कारण साथी मरेको तर आफू दलित भएका कारण घरबाहिर बसेर बाँचेको कुरा गरिएको छ । यसमा दलित हुनुको फाइदाको कुरा गरिएको भए पनि प्रकारान्तले दलनकै कुरा आएको छ ।
त्यस्तै चौथो साक्ष्यमा आरनमा हतियार अर्जाप्ने कुरा गरिएको छ भने पाँचौँ साक्ष्यमा जुत्ता सिउने सन्दर्भ उठाइएको छ, यी दुबै काम परम्परित समाजमा दलितले गर्ने काम हुन् । त्यस्तै छैटौँ साक्ष्यमा लुगा सिउने सन्दर्भ उठाइएको छ । यसरी लुगा सिउनलेलाई उल्टै दलित भनेर हेप्ने गरेको कुरा पनि गरिएको छ । त्यस्तै सातौँ साक्ष्यमा आफूलाई सम्झनेहरूले तल्लो जातका कारण सम्झेको कुरा गरिएको छ भने आठौँ साक्ष्यमा प्रेममा कुरा मिल्न लाग्दा जात बाधक बनेको कुरा गरिएको छ । यसरी जातका कारण समस्या पर्नु भनेकै दलन हो ।
अन्तिम अर्थात् नवौँ साक्ष्यमा दलित समुदायका पनि परियार अर्थात् दर्जीहरूको कुरा उठाइएको छ । आफूले मन पराएकी कथित उपल्लो जातकी केटीको बिहे हुन लाग्दा उसले निम्तोस्वरूप सुपारी दिन्छे भने सोही बिहेमा बाजा बजाउनका लागि उसका बाले अर्को सुपारी दिएपछि अन्यमनस्क भावमा टोलाएको एउटा युवकको मानसिक अवस्था यसमा सुन्दर रूपमा चित्रण गरिएको छ । दलित भएकै कारण यस्तो अवस्था झेल्नु परेको कुरा बुझ्न पाठकलाई मेहनत गर्नुपर्दैन । यसर्थ यसमा जातीय दलनको सुन्दर चित्रण पाइन्छ ।
पाठकवृन्द, यति समीक्षा लेखिसकेपछि मलाई परिविक्रमको असाध्यै झल्को आयो । मेसेन्जरमा हेरेँ, उनी अनलाइन रहेनछन् । फोन गरेँ उठाएनन् । केही बेरमा म कक्षा थिएँ भन्ने एस्एम्एस् आयो । फेरि कल गरेँ । फोन उठ्यो । त्यसपछि फटाफट प्रश्न सोधिहालेँ । त्यो छोटो कुराकानीलाई यहाँहरूसमक्ष जस्ताको त्यस्तै राखेको छु ।
प्रश्न : नमस्कार परिविक्रमजी, यहाँको गजल पढ्दा यहाँ पक्कै पनि यो समाजले भन्ने गरेको दलित सम्प्रदाय हुनुपर्छ हो ?
उत्तर : नमस्कार रमेश दाइ, हो । म दलित समुदायकै हुँ । मेरो खास नाम विक्रम परियार हो । साहित्यमा परिविक्रम भनेर लेख्ने गरेको छु ।
प्रश्न : त्यसो भए यहाँले बाल्यकालमा जातका कारण केही समस्या झेल्नुभयो त ?
उत्तर ? म सानोमा बसेको ठाउँ कास्कीको नाउडाँडा हो । त्यहाँ मिश्रित खालको समाज थियो । त्यसले मेरो जीवनमा केही प्रभाव त पक्कै पार्यो । त्यहाँ मैले दुई कक्षासम्म पढेँ । त्यसपछि भने हामी हाम्रो जातिका बसोबास भएको ठाउँमा बस्न थाल्यौँ । त्यहाँ त्यस्तो समस्या झेलिएन ।
प्रश्न : त्यसपछि यहाँको जीवनमा जातका कारण कुनै समस्या नै आइपरेन त ?
उत्तर : समस्या नभएको ठाउँ कहाँ छ र ? समस्या त आइहाल्छ नि हैन र दाजु ?
प्रश्न : त्यसो भए यहाँले सम्झनुभएको समस्यका बारेमा बताउनुस् न ।
उत्तर : साथीहरूले उनीहरुको घरमा जाऊँ भनेर लैजान्छन् । त्यहाँ पुगेपछि उनीहरूका बाआमाले नाम थर सोधेपश्चात् समस्यामा परेका घटनाहरू धेरै छन् । तर तिनलाई म सामान्य रूपमा लिन्छु ।
प्रश्न : अलिक असमान्य खालको घटना भन्नुस् न ।
उत्तर : म प्लस टु सकेर फुर्सदमा थिएँ । एकजना दिदीले होम ट्युसन पढाउन भनेर बोलाउनुभयो । उहाँसँग उहाँको घरमा जाँदै गर्दा बिच बाटोमा उहाँले मेरो जात सोध्नुभयो । मैले पनि नढाँटीकन म परियार हुँ । भनिदिएँ । त्यसपछि उहाँले घर नै नलगी बिच बाटोबाटै फर्काइदिनुभयो । यसले मलाई पछिसम्म नराम्रो लाग्यो । त्यति कुरा पहिले नै सोधेको भए पनि त हुन्थ्यो नि ।
प्रश्न : नेपालमा जातीय दलन कहिले हट्ला त <
उत्तर : यो त म कसरी भन्न सक्छु र दाजु <
प्रश्न : यतिबेला मलाई यहाँको गजलको एउटा शेर याद आयो :
बाजाको तिम्रो बाले, तिमीले दियौ बिहेको
दुइटा सुपारी हेर्दै तौलिन्छ जिन्दगीले ।
त्यसो त यहाँ जातले पनि परियार । यहाँले यो शेर आफैँलाई हेरेर लेख्नुभयो कि कल्पना गरेर लेख्नुभयो । केही प्रकाश पारिदिनुस् न ।
उत्तर : हो, म जातले परियार हुँ । यो कुरा भन्दा मलाई कत्ति पनि हीनताबोध हुँदैन । मेरो हजुरबा राम्रो बाजा बजाउनुहुन्थ्यो । लुगा सिउने त हाम्रो पेसा नै भयो । उतिबेला गाउँमा बाजा बजाउनेका लागि बिहेमा छुट्टै सुपारी निम्तोका रुपमा दिने चलन थियो । यहाँ गैरदलित युवतीसँग प्रेममा परेका दमाई युवाको अवस्था झल्काउन थोरै कल्पना मिसाएको छु । यति हुँदाहुँदै पनि यो त्यतिबेलाका हाम्रो समाजको यथार्थ भोगाइ हो ।
पाठकवृन्द, परिविक्रमको अङ्कमालभित्र संरचना पूरा भएका गजलहरू मात्र छैनन्, गजलको रूप धारण गरिनसकेका केही मतलाहरू र केही फर्दहरू पनि समाविष्ट छन् । तिनमा पनि विविध भावहरू समेटिएका छन् । म त्यतातिर जान्नँ ।
यहाँ मैले सुरुमा मतला मात्र राखिएका केही शेरहरुलाई हेरेको छु । तिनमा पाइने जातका कुरालाई यहाँहरूसमक्ष यसरी प्रस्तुत गर्छु । हेरौँ केही शेरहरू :
पहिलो साक्ष्य :
म आकाश छोडी कुवामा शशी देख्छु
नछोएर बाँचेको कतै जिन्दगी देख्छु । (पृ. ८३)
दोस्रो साक्ष्य :
फाट्यो रहर टाल्छु आफैँ, किन सिउनलाई दिने हो ?
जसले सिए पनि स–साना प्वालै बनाई दिने हो । (पृ. ८६)
माथि साभार गरिएको पहिलो साक्ष्यमा प्रत्यक्ष रूपमा जातको कुरा नआए पनि छोइनुको भाव आएको छ । यसरी छोइनुको भाव आएकाले यो जातिप्रथा तथा छुवाछुतसँग सम्बन्धित शेर हो । त्यस्तै दोस्रो साक्ष्यमा रहर फाटेर सिलाउने सन्दर्भ उठाउँदै लुगा सिउँदा प्वाल बनाउने कुरा गरिएको छ । नेपाली समाजमा लुगा सिउने काम गर्ने दर्जीहरूले गर्ने र उनीहरू कथित दलित समुदायमा पर्ने हुनाले यसमा पनि परोक्ष रूपमा जात व्यवस्थाले सिर्जना गरेका दलनको कुरा आएको छ ।
त्यस्तै यस कृतिमा समाविष्ट केही फर्दहरूमा पनि जातीय विभेद र दलनका कुराहरू छिटफुट आएका छन् । तिनलाई तल साक्ष्यका रूपमा साभार गरिएका शेरहरूले थप प्रस्ट पारेका छन् :
पहिलो साक्ष्य :
हाम्रो जोडी खै, मिल्न के गर्छ
जातमा उनको सानो धर्को बढी छ । (पृ. ९४)
दोस्रो साक्ष्य :
बालाई छोइए बाले सुनपानी छर्थे
छोरा सुध्रेछ छोइए सेन्ट छर्किने भो । (पृ. ९८)
तेस्रो साक्ष्य :
पाठ जुठेल्नोबाटै सिकोस् न छोराले मालिक
जुन भाँडो डढ्छ बढी, त्यही बढी कोतरिन्छ । (पृ. ९९)
माथि साभार गरिएको पहिलो फर्दमा जोडी मिलाउन पनि जात आवश्यक भएको कुरा गरिएको छ । नामका पछाडि लेखिने थरमा केटाको भन्दा केटीको एउटा धर्को बढी भएका कारण केटी ठूलो जातको र केटा सानो जातको भएको भन्दै कुरा मिल्न नसक्ने कुरा गरिएको छ । यसो हुनुमा जात समस्या बनेर आएको कुरा त्यसमा प्रस्ट देखिन्छ । त्यस्तै दोस्रो फर्दमा कथित उपल्लो जातकाले तल्लो जातकालाई छोइएमा छोइछिटो गर्ने पुरातन व्यवहारप्रति व्यङ्ग्य गरिएको छ । तर अचेलका घरनियाँहरू त्यसरी छोइँदा सुनपानीका सट्टा सेन्ट छर्कने गरेको कुरा गर्दै व्यङ्ग्य गरिएको छ । त्यस्तै तेस्रो फर्दमा जातिगत रुपमा कमजोर भए पनि उनीहरुले त्यसलाई शक्तिका रुपमा लिने कुरा गरिएको छ । ‘जुन भाँडो डढ्छ, त्यही बढी कोतरिन्छ’ भन्दै नेपाली लोकोक्तिको पनि सुन्दर प्रयोग गरिएको छ ।
पाठकवृन्द, यहाँको सजिलोका लागि म जातीय प्रथाले मानेको दलितचाहिँ होइन है । आफू दलित नभए पनि दलितलाई दलित भनेर कथित गैरदलितहरुले गर्नेगरेका हेपाइबाट भने मेरा कन्सिरीका रौँ तात्छन् । महाकवि देवकोटाले मुनामदनमा “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।” भनेर उतिबेलै लेखेका हैनन् र ? परिविक्रमको विद्रोहीचेतलाई सलाम । आगामी दिनमा उनका अझ सशक्त गजलहरू पढ्न पाइयोस् ।