भरतपुर, २५ चैत ।
वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशी रहेको उक्त पुरस्कार शनिबार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई प्रदान गरियो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना माता पिताको नाममा स्थापना गरेकी हुन् ।
पुरस्कृत साहित्यकार श्रेष्ठ कथा, उपन्यास, मुक्तक गीत लेखनमा सक्रिय छन् । विस २०१२ सालमा पोखरामा जन्मेका साहित्यकार श्रेष्ठले उपन्यास ‘पागल बस्ती’का लागि मदन पुरस्कारसमेत पाएका छन् । कार्यक्रममा श्रेष्ठको योगदानका बारेमा बोल्दै साहित्यकार भूपिनले श्रेष्ठका विभिन्न विधामा गरेर तीन दर्जनका हाराहारीमा कृतिहरु प्रकाशित भइसकेको जानकारी दिए । पुरस्कार ग्रहण कार्यक्रममा पोखराबाट सरूभक्त सँगै चितवन आएका कवि सञ्जीव पौडेलले सरुभक्त र माछापुच्छ्रेको प्रसङ्ग उठाए । सञ्जीवले भने – `पोखरामा बस्नेले हेर्दिन भने पनि देखिने माछापुच्छ्रे र नेपाली साहित्य पढ्दिन भन्नेले पनि नछुटाउने सरुभक्त दाइ हो । दाइ नेपाली साहित्यको चुली हो ।´ कार्यक्रममा उदय अधिकारी, केदारनाथ खनाल, गायत्री श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
सुवर्ण तुलसी काव्य पुरस्कार पहिलो पटक विस २०७६ सालमा श्रवण मुकारुङले पाएका थिए । त्यसयता तीर्थ श्रेष्ठ र मनु मञ्जिलले पनि यो पुरस्कार पाइसकेका छन् । ‘नेपाली कविता, आख्यान र नाटकको क्षेत्रमा समर्पित भएर लाग्नु भएका सरुभक्तको नेपाली साहित्यमा अतुलनीय योगदान छ । त्यसैले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेका हौं’ कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले भने । कार्यक्रमलाई सुरेन्द्र अस्तफलले सहजीकरण गरेका थिए ।