भरतपुर, २४ चैत ।
भरतपुर अस्पतालले आफ्नो ६८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईरहेको छ । यसै सन्दर्भमा शुक्रबार अस्पतालको ज्येष्ठ नागरिक वार्डमा रहेका बिरामीहरुलाई पौष्टिक आहार तथा सरसफाई सामग्री वितरण गरिएको हो ।
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार उक्त वार्डमा रहेका २० जना बिरामीलाई हर्लिक्स, साबुन, काईँयो, नङकटर, पेष्ट, ब्रसलगायतका सामग्री वितरण गरिएको छ ।
कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारी, मेडिसिन विभागका विभागीय प्रमुख डा.प्रकाश खतिवडालगायत उपस्थित थिए । सो अवसरमा डा. खतिवडाले ज्येष्ठ नागरिकलाई सरसफाईमा बानी पार्नका लागि यस्ता सामग्री वितरण गरिएको बताए । उनले सामान्य सरसफाईमा ध्यान पुर्याउन नसक्दा समेत कतिपय रोग लाग्ने हुँदा नियमित सरसफाईमा ध्यान दिन समेत सुझाव दिए ।
संयोजक पौडेलले ज्येष्ठ नागरिकलाई अस्पतालमा पौष्टिक आहार र सरसफाईका सामग्री वितरण गर्न पाउँदा आफूलाई खुशी लागेको भन्दै यस्ता कार्यक्रमले सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारीबीचको आत्मियता बढाउने बताए ।
अस्पतालको सौन्दर्यकरण तथा सरसफाई उपसमितिका संयोजक समेत रहेका पौडेलले वार्षिकोत्सवको अवसरमा शनिबार साँझ आकस्मिक भवन अगाडि मैनबत्ती बाल्ने कार्यक्रम रहेको जानकारी दिए । उनले अस्पताल परिसरमा सरसफाई, हरियाली र बगैंचालाई सुन्दर बनाउने काम भईरहेको भन्दै वार्षिकोत्सवका अवसरमा अझै बढी सक्रियताका साथ यी काम भईरहेको बताए । सरसफाई र सौन्दर्यकरणका काम निरन्तर चलिरहने उनको भनाई थियो ।
भरतपुर अस्पतालले वार्षिकोत्सवका अवसरमा खेलकुद, निःशुल्क स्वास्थ्य शिविरलगायतका विविध कार्यक्रम नियमित गर्दै आईरहेको छ ।