रत्ननगर, २२ चैत ।
चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले सरकारी गाडी नचढ्ने भएका छन् । रत्ननगर वडा नम्बर ६ स्थित बछाैली माविमा बिहीबार आयाेजित नगरपालिकाकाे चालू आर्थिक वर्षकाे दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर सापकोटाले सरकारले व्यवस्था गरेकाे सरकारी गाडी नचढ्ने बताएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले नगरप्रमुखकाे सहजताकाे लागि सवारी साधन व्यवस्था गरेकाे छ ।
सरकारी खर्चलाई सुरुदेखि नै मितव्ययी गर्दै आएका मेयर सापकाेटाले अब सरकारी गाडी समेत नचढ्ने घाेषणा गरेका हुन् । निर्वाचित भएकाे दुई वर्षसम्म सरकारी गाडीलाई कम प्रयाेग गरेका उनले सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीलाई साक्षी राखेर अब सरकारी गाडी प्रयोग नगर्ने घाेषणा गरेका हुन् । `दुई वर्षसम्म सरकारी गाडी कम प्रयाेग गरेकाे छु ।´ उनले भने – `अब तीन वर्षको कार्यकाल बाँकी छ, आजैका मितिदेखि रत्ननगर नगरपालिकाको प्रमुखको हैसियतले प्राप्त हुँदै आएको यातायात सुबिधा उपभोग नगरी निजी साधनको प्रयोग गर्ने जानकारी गराउँदछु ।´
जनताले तिरेकाे कर विकास निर्माणमा खर्च गर्न आफू प्रतिबद्ध रहेकाे भन्दै मेयर सापकाेटाले सेवा उपभाेगलाई भन्दा नगरकाे विकास र नगरबासीकाे हितका लागि आफू प्रतिबद्ध रहेकाे बताए ।
विपन्न समुदायकाे शिक्षा र स्वास्थ्यकाे लागि सधैँ प्रयासरत रहने मेयर सापकाेटाले नगर तथा व्यक्तिगत लगानीमा विपन्न र असहायलाई आवास निर्माण गर्ने गरेका छन् । आर्थिक अभावका कारण उपचार नपाएका र शिक्षाबाट बन्चित विपन्न तथा अपाङ्गता भएका नगरवासीलाई व्यक्तिगत लगानीमा उपचार र शिक्षा प्रदान गर्दै आएका छन् ।