भरतपुर, २२ चैत ।
उद्योग वाणिज्य संघ–चितवनले लालितपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बर्जचार्यकोे नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो ।
स्वागत एवं छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिंदै यस किसिमका भेटघाटले मित्रता बढ्नुका साथै दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी समस्या समधानका लागि सम्बन्धित निकायमा पहल गर्न सहज हुने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले स्वागत गर्दै उद्योग वाणिज्य संघहरूले व्यावसायिक हितका साथै राष्ट्रिय हितका विषयमा पनि कुरा उठाउन पर्ने बताए । उनले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन ललितपुर र चितवनबिच पर्यटकीय गतिविधि बढाउन भ्रमण टिमलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा वोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बर्जचार्यले उद्योग वाणिज्य संघ–चितवनले आतिथ्यता प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले संघको संक्षिप्त जानकारी दिँदै उद्योगी व्यवसायीहरुको हक हित एवम् समस्या समधानका लागि उद्योग वाणिज्य संघ–चितवनस“ग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्यौले उद्योग वाणिज्य संघका अध्यक्षहरुको अस्तित्वका लागि सरकारी हिसाबमा पदको क्रमबद्धता खोज्नुपर्ने बताए ।
छलफलमा दुई उद्योग वाणिज्य संघबिच भगिनी सम्बन्ध बिस्तार गरी चितवन र ललितपुरबिच व्यावसायिक परियोजनाहरुमा सहकार्य गर्ने, ललितपुरका कलाकारिता चितवनमा भित्र्याउनेदेखि उद्योगी व्यवसायीका समस्याहरुलाई समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषयमा प्रतिवद्ध भएका थिए ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमी लगायत २० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय राजेन्द्र ओली, अशोक अधिकारी र नारायण प्रधानलगायत कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो । यसैगरी ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लगायत पदाधिकारी र कार्यसमितिको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराए ।
टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सी सञ्चालन गरेका थिए ।