मकवानपुर, २० चैत ।
बागमती प्रदेश सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेपछि सरकारले पूर्णता पाएकाे हाे ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । २५ पुस २०७९ मा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिइएकाे हाे । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठले भने पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।
यो सँगै गत फागुन २३ गते नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेकाे ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिएकाे हाे । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।
बागमती प्रदेशका १२ वटा मन्त्रालयहरुमध्ये माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालिरहेकाे छ । ती मन्त्रायलमा क्रमशः गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मुक्तान मन्त्री छन् ।
बागमतीमा नेकपा (एकीकृत समाजवादी) बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया चैत १७ गते आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भए ।
१५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए । यसैगरी साेमबार समाजवादी पार्टीकी रमा आलेमगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।