मकवानपुर, २० चैत ।
बागमती प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद रमा आलेमगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार मन्त्री नियुक्त गरेका छन् । आलेमगरलाई मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाए ।
सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् । आफूलाई मन्त्री बनाइनुपर्ने भन्दै सोमबार आलेले प्रदेशसभा बैठकमा भग लिन समेत आनाकानी गरेको बताइन्छ । मन्त्री बनाउने आश्वासनपछि मात्रै आले बैठकमा सहभागी हुन काठमाडौँबाट हेटौंडा आएकी थिइन् ।
१ सय १० सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासकाे मत प्राप्त गरेका थिए । ५६ जनाले विश्वासको मत दिएपछि उनकाे सरकारले निरन्तरता पाएकाे छ ।
बागमती प्रदेशका १२ वटा मन्त्रालयहरुमध्ये माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालिरहेकाे छ । ती मन्त्रायलमा क्रमशः गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मुक्तान मन्त्री छन् ।
बागमतीमा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया चैत १७ गते आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन् । चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।