मकवानपुर, १९ चैत ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विश्वासकाे मत प्राप्त गरेका छन् । सोमबारकाे प्रदेश सभा बैठकमा उनले विश्वासकाे मत प्राप्त गरेका हुन् ।
सोमबार प्रदेशसभामा उपस्थित कुल १ सय ८ सदस्यमध्ये जम्कट्टेलकाे विश्वासकाे मतकाे पक्षमा ५६ मत प्राप्त गरे । उनकाे विपक्षमा नेपाली काँग्रेसका ३७ जना सांसदले मात्रै मतदान गरे । १५ सांसद भने विश्वासकाे मत विभाजन हुँदा तटस्थ बसेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो । यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे ।
केन्द्रीय सत्तासमीकरणमा एमाले प्रवेश गरी नेपाली काँग्रेस वाहिरिए पछि प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका थिए । बागमती प्रदेशमा नेपाली काँग्रेगका मन्त्रीले गत फागुन २३ गते राजिनामा दिँदै सरकारबाट बाहिरिएपछि जम्कट्टेल अल्पमतमा परेका थिए । अल्पमतमा परेका १ महिना भित्र सभामा विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाेले उनले सोमबार विश्वासकाे मत लिएका हुन् ।
१६ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत दिएका हुन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै सोमबार तेस्राे पटक प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।
विश्वासकाे मत दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सोमबारकाे बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । उनले सभामा उपस्थित भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए । सत्ता समीकरणमा शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी हुदै नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाले तटस्थ बस्ने निर्णय गरेकाे थियाे । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने सहमति भए पछि मत दिएकाे हो ।
सोमबारको प्रदेशसभा बैठकमा जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (४) एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सो प्रस्तावलाई सभामुख भुवन पाठकले मत विभाजनपछि निर्णयार्थ प्रस्तुत गर्दा ५६ सांसदले मतको मत पाएका हुन् ।
११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन आवश्यक कुल ५६ सांसदको विश्वासको मत पाउनु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार जम्कट्टेलको पक्षमा नेकपा माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुख सहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ सांसदले मत दिएका हुन् । राप्रपाका १३ सांसद र नेमकीपाका ३ सांसदले तथस्ट बसे । यस्तै कांग्रेसका ३७ सांसदले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत प्रदान गरे ।
मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । तत्कालिन समयमा उनले एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको गठबन्धनबाट विश्वासको मत पाएका थिए । उक्त समयमाउनले कांग्रेससमेत गरी १ सय ५ सांसदको विश्वासको मत पाएका थिए । त्यतिबेला नेमकिपाका सांसदले मात्रै उनलाई मत दिएन् ।
मुख्यमन्त्री जम्कट्टेलले गत २०७९ चैत १० मा दोस्रो पटक संसदबाट विश्वासको मत प्राप्त गरेका थिए । प्रदेशसभाको सो बैठकबाट उनको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६७ जनाले मतदान गरेका थिए । उनलाई त्यतिबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहित हाम्रो नेपाली पार्टीबाट विश्वासको मत दिएका थिए ।