भरतपुर, १९ चैत ।
भरतपुर महानगरपालिकाले रामनवमी पर्व (विक्रमबाबा मेला) लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । यहि चैत २६ गतेदेखि भरतपुर- २३ जगतपुरमा सञ्चालन हुने विक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो ।
बिक्रमबाबा मेला २०८० को सञ्चालन व्यवस्थापन तथा व्यावसायिक क्रियाकलाप नियमन सम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले अनुगमन गरेको हो । समितिका सयोजक एवं नगर उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षणमा गएको टोलीले मेलाको सञ्चालन व्यवस्थापन तथा व्यावसायिक क्रियाकलाप नियमन सम्बन्धी विषयमा अध्ययन गरेको छ ।
मेलालाई थप व्यवस्थित गर्ने, हाल मेला स्थलमा देखिएका समस्याहरुलाई समाधान गर्ने, मेलालाई सफलतापूर्वक सम्पन्न गर्न सबैलाई आग्रह गर्ने लगायतका विषयहरुमा अनुगमन टोली केन्द्रित भएको छ । अनुगमन टोलीले सदियौँदेखि विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएको विक्रमबाबा मेलालाई यस वर्षदेखि अन्य संघसंस्थाहरुको सहकार्यमा भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
अनुगमनमा भरतपुर- २३ का अध्यक्ष दीपक दवाडी, भरतपुर महानगरका उपनिर्देशक जगन्नाथ अर्याल, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लीलाराज भुषाल, केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेललगायतको सहभागिता रहेको थियोे ।
हरेक वर्ष चैते दशैँको समयमा विक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् ।
सन्तान प्राप्ति र सुख लगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरेको पाईन्छ ।
चैते दशैंमा हजारौँ भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवन सहित नवलपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्दछन् । मेला वैशाख ११ सम्म सञ्चालन हुनेछ ।
यसैबीच नगर उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा ७ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । यस्तै भरतपुर २३ का अध्यक्ष दीपक दवाडीको सयोजकत्वमा ७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।