भरतपुर, १८ चैत ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममाझ स्रस्टाहरूलाई सम्मान गरिएको हो ।
प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया र सदस्य विष्णु तिवारी उषाले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।
प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् नगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्रस्टालाई सम्मान गरे । कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरियो । भरतपुर – ४ चितवन निवासी थापालाई रु. ५०,०७८/- सहित सम्मानपत्र दिइएको हो ।
त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा.डा. कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर- १२ चितवन निवासी बानियाँलाई रु. ५०,०७८/- रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डी. आर. पोखरेललाई प्रदान गरिएको छ । `संस्कृतिको सोपानमा चितवन´ कृतिका लागि भरतपुर-१० निवासी पोखरललाई रु. ५०,०७८/- र सम्मानपत्र दिइएको छ । त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीको `झुमर´ उपन्यासलाई दिइएको छ । भरतपुर-१ नारायणगढ निवासी क्षेत्रीलाई रु. २५,०७८/- र सम्मानपत्र दिइएको छ ।
त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य) जगन्नाथ पण्डितको `घरबारीमा तोरी फुल्यो´ कवितासङ्ग्रह लाई दिइएको छ । पुरस्कारको राशि रु. २५,०७८/- र सम्मानपत्र रहेको छ ।
त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको `अन्तश्चेतना´ उपन्यासलाई दिइएको छ । पुरस्कारको राशि रु. २५,०७८/- र सम्मानपत्र रहेको छ ।
त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको `अन्तिम पथ ´ शीर्षकको कथा सर्वोकृष्ट बनेको थियो । लम्साललाई रु. ४०,०७८/- र प्रमाणपत्रले पुरस्कृत गरियो ।
लमजुङकी अनिता पन्थीको `मृत्युको अपिल´ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई रु. ३०,०७८/- र प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यस्तै रामेछापका समीप खड्काको `भाग्यको कुरो´ शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्कालाई रु. २०,०७८/- र प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को `पहिचान ´ र राधिका कल्पित (राधिका गौतम पौडेल) को `अब लजाउँदैन लज्जावती´ शीर्षकका कथाले प्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही रु. १०,०७८/- र प्रमाणपत्रले पुरस्कृत गरियो ।
प्रतिष्ठानले `मेरो सपनाको भरतपुर´ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरेको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारी रविको निबन्ध सर्वोकृष्ट घोषित भयो । तिवारीले रु. १०,०७८/- र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अनुस्का न्यौपाने को निबन्ध उत्कृष्ट रह्यो । उनले रु. ८,०७८/- र प्रमाणपत्र पाइन् ।
त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनलाई रु. ६,०७८/- र प्रमाणपत्र दिइयो ।
त्यस्तै प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु. ४,०७८/- र प्रमाणपत्र दिइएको छ ।
कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, पुरस्कृत स्रस्टा प्राडा कर्णबहादुर बानिया, सिम्रन क्षेत्री, भूपिन, केदारनाथ खनाल, नरेन्द्रकुमार राना, चित्रसेन अधिकारीले मन्तव्य राखेका थिए ।