गैंडाकोट, १७ चैत ।
लमजुङ जिल्लाबाट बसाइसराइ गरी गैंडाकोट नगरभित्र रहेका लमजुङेहरुको भेलाले लक्ष्मीप्रसाद सोतीको अध्यक्षतामा १९ सदस्यीय लमजुङ – गैंडाकोट सम्पर्क समाज गठन गरेको छ ।
समाजसेवी तथा पूर्वजनप्रतिनिधि गोविन्दराज कोइरालाको निर्वाचन मण्डल संयोजकत्वमा निर्विरोध समिति चयन भएको थियो । समितिको उपाध्यक्ष दीपक रावत, सचिव रामकृष्ण कोइराला, कोषाध्यक्ष दुर्गा कोइराला, सह-सचिव पुष्कर भट्टराईलगायत सदस्यहरु रहेका छन् ।
समाज भेला कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख शान्ति कोइरालाले गठनहुने समितिले समाजमा सद्भाव विस्तार र पुराना सांस्कृतिक परम्परा अपनत्वको विकासको लागि काम गर्नुपर्ने बताउँदै शुभकामना मन्तव्य राखेकी थिइन् ।
नगरभेला कार्यक्रममा प्राचिनकालदेखि खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता र परम्परामा आधारित सांस्कृतिक प्रस्तुति समेत राखिएको थियोे । दीपक रावत, लक्ष्मीप्रसाद दवाडी, माधवप्रसाद कोइराला, होमराज गौतम, मुरारी कोइरालालगायतको आतिथ्य रहेको कार्यक्रमलाई इतराज गुरुङ र रमेश कोइरालाले संचालक गरेका थिए ।