मकवानपुर, १७ चैत ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश सरकारमा शनिबार एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गर्दै सरकार विस्तार गरेका हुन् ।
योसँगै सत्ता साझेदार दल एमाले बागमती सरकारमा सहभागी भएकाे छ । थपलियाले शनिबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गाेपनीयताकाे सपथ लिएका छन् । केन्द्रमा बदलिएकाे सत्ता समीकरण अनुसार मुख्यमन्त्री जम्कट्टेलले बागमती सरकारमा साझेदार दल एमालेलाई सहभागी गराएका हुन् ।
१९ गते विश्वासको मत लिने तयारी गरेका उनले सत्तामा सुरक्षित बन्न यस अघि २ सांसद रहेको हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
बागमतीमा थपलिया दोस्रोपटक मन्त्री बनेका हुन् । यसअघि २०७९ साल पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका थिए । गठबन्धनमा फेरबदल आएसँगै थपलिया करिब ३ महिनामै सरकारबाट बाहिरिएका थिए । २०७९ चैत १० मा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अवसर पाएका हुन् ।
१९ चैतमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् थप विस्तार हुने बताइएकाे छ । एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । शुक्रबार काँग्रेसले छाडेकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालकाे जिम्मेवारी हाम्रो नेपाली पार्टीका बज्राचार्य दिइ सरकार विस्तार गरिएकाे थियाे ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयसमेत १२ मन्त्रालय रहेकाे बागमतीमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेकाे छ ।
प्रदेश सरकारकाे आलोपालो नेतृत्व गर्ने सहमतिपछि एमालेले सरकारमा सहभागी भएकाे बताइन्छ ।
काे हुन् थपलिया?
विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका जगन्नाथ थपलिया गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित भएका हुन । चितवनका पुराना कम्युनिस्ट नेता स्व. जागृत प्रसाद भेटवाल ( जेपी) को झल्को मेटाउने थपलिया ‘जेएन’ उपनामले पनि परिचित छन् ।
थपलिया बुवा धर्मानन्द थपलिया र आमा प्रेममाया थपलियाकाे सन्तानकाे रुपमा २०१३ साल साउन २० गते जन्मेका हुन् । २०२८ सालमा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा उदाएका थपलिया २०३१/२०३२ सालसम्म आइपुग्दा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्रमा आवद्ध भएका थिए ।
उनकाे सक्रियतासँगै २०३६ सालमा मीनभवन क्याम्पसको स्ववियु सभापति भए । २०३९ सालमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव भएपछि उनले २०४० सालदेखि ४४ सालसम्म ४ वर्ष राजनीतिका कारण मुद्दा खेप्नु परेको थियो ।
मुद्दाका कारण थपलियाले केही समय केन्द्रिय कारागारमा बस्नु परेको थियो । उनले पटकपटक गरी ५ वर्ष जेल जीवन विताएका छन् । राजनीतिलाई कमाइको पेसा बनाइनु हुँदैन भन्ने धारणा अवलम्बन गर्ने थपलिया सुरुमा शिक्षण पेसामा आवद्ध भए । जनजीवन माबी खैरहनी चितवनमा २०४३ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएर काम गरेका उनले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए ।
यस्तै २०६८ सालमा मदन भण्डारी फाउन्डेसन चितवनको सस्थापक अध्यक्ष पनि भएका थपलिया लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा प्रभावशाली भूमिकामा रहे । २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले चितवन जिल्ला कमिटीको नेतृत्वमा समेत रहे । मुलुकमा भएका दुई ठुला आन्दोलनहरु जनआन्दोलन २०४६ र २०६२/०६३ मा नेतृत्वदायी भूमिका खेलेका उनी २०७३ सालदेखि करिव साढे ३ वर्ष बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा रहे ।
२०७९ पुष १४ गते नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेता चयन भएका थपलिया साेही वर्ष पुष २६ तत्कालीन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा जिम्मेवारीमा रहे । हाल थपलिया नेकपा एमालेको केन्द्रीय सदस्य, भरतपुर महानगर पालिका इन्चार्ज एवं पार्टीको केन्द्रिय शिक्षा विभाग उप–प्रमुखको रुपमा पार्टीमा कृयाशील छन् । उनले अमेरिका, चीन, सिङ्गापुर लगायतका देश भ्रमण गरेका छन् ।