मकवानपुर, १५ चैत ।
बागमती प्रदेश सरकारमा हाम्राे नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्यले मन्त्री पदकाे सपथ लिएका छन् ।
प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीलाई सहभागी गराउँदै प्रदेश सभा सदस्य बज्राचार्यलाई संस्कृति पर्यटन सहकारी मन्त्रीमा नियुक्ति गरिएको हाे । बिहीबार साँझ उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रदेश प्रमुखले नियुक्ति गरेसँगै सपथ खुवाए ।
योसँगै बागमती प्रदेशको सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्ने छ । १ सय १० सदस्य रहेको प्रदेश सभामा बहुमत पुग्न ५६ सदस्यको समर्थन चाहिन्छ । गठबन्धनका एमाले, माओवादी र एकीकृत समाजवादीको सदस्य संख्या ५५ जना हुन्छ । एमालेका २७, माओवादी २१ र एकीकृत समाजवादीको ७ सांसद छन् । दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले समर्थन गर्दा बहुमत पुग्छ । हानेपाका बज्राचार्यलाई मन्त्री नियुक्त गरेपछि जम्कट्टेलको वर्तमान सरकारले विश्वासकाे मत पाउने र निरन्तरता समेत पाउने भएको छ ।
केन्द्रीय सत्ता समीकरण बदलिएसँगै बागमतीमा काग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएको थियो । फागुन २३ गतेबाट अल्पमतमा परेको जम्कट्टेल सरकारले आजको मन्त्री परिषद बिस्तारसँगै निरन्तरता समेत पाउने भएकाे हाे ।
यस अघि बुधबारमात्रै हानेपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उस्ले प्रदेश प्रमुखलाई पत्र पठाउदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यता गठबन्धनलाई बहुमतका लागि एक सांसदको समर्थन नपुगेकै समयमा हाम्रो नेपाली पार्टी दलका नेता बज्राचार्य सककारमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।
आफ्नै नेतृत्वमा सरकार गठन हुनु पर्ने बताउँदै आएकाे हानेपाले तत्काल सरकारमा सहभागी हुने नहुने विषयमा आधिकारिक धारणा भने सार्वजनिक गरेकाे छैन ।
यसअघि सत्ता गठबन्धनका ३ दलका नेताले हानेपाका नेतासँग ५ बुदे सहमति गरेका थिए ।