मकवानपुर, १४ चैत ।
मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका वडास्तरबाटै योजना बनाउने अभियानमा जुटेकाे छ । स्थानीय तथा जनसरोकारवालाकाे सुझाव अनुसार उपमहानगरपालिकाले वडा स्तरबाटै योजना बनाउने अभियान सुरु गरेको हाे ।
नगरको विकासलाई अघि बढाउने उद्देश्य अनुरुप आगामि आर्थिक वर्ष २०८१/०८२ मा हुने कामलाई नगरवासी बिच अपनत्व गराउन आवश्यक रहेकोले उपमहानगर वडास्तरमा पुग्ने अभियानमा छ । नगरवासीका मागसमेतलाई आगामी योजनामा समावेश गराउन उपमहानगरले बुधबार वडा नम्बर १ बाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन कार्यक्रम सुरु गरेको हो ।
वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको विकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम हुने उपमहानगरपालिका वित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले बताए । पालिकाको बजेट निर्माण पूर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने नीति अनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।
सूचना संकलन गर्दै स्रोतलाई सुनिश्चितता गर्ने उद्देश्य अनुसार काम अघि बढाएको हाे । अधिकार आफैमा राख्ने नेतृत्व कर्ताको सोच रहने अवस्थामा उपमहानगरले जनतालाई सुविधा दिने सोच अनुसार योजनाको भुक्तानी र फरफारकको काम वडाबाटै गर्नुले नगरको काममा सहजता भएको महाशाखा प्रमुख नेपालले बताए ।
आउँदो वर्ष बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनले बताए । १ नम्बर वडा कार्यालयमा भएको सुझाव संकलनमा स्थानीयले खानेपानी, स्वास्थ्य, शिक्षा र पुर्वाधार विकासको काम गर्न आवश्यक रहेको बताएका थिए । वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडा सहितको माथिल्लो भेगमा खानेपानीको चरम समस्या रहेको भन्दै दैनिक छाक टार्ने पानीको व्यवस्थापनका लागि २/३ घण्टाको यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय कुमारीमाया स्याङतानले बताइन् ।
केन्द्र सरकारको ठुलो योजना निर्माणपछि पानीको समस्या समाधान हुन्छ भनेर बिगत ४/५ वर्षदेखि कुर्दा पनि काम नभएको उनले गुनासो गरिन् । पानीको सुविधाका लागि टंकी निर्माण, स्रोतको सुनिश्चितता हुँदा पनि समस्या नगरेको उनीहरुको भनाई थियो । कार्यक्रममा कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीले भौगोलिक बिकटताका कारण माध्यमिक विद्यालय थप गर्न जरुरी रहेको बताए । उनले वडा भरीमा एक मात्र माध्यमिक विद्यालय भएका कारण ग्रामिण भेगमा रहेका विद्यार्थीलाई समस्या भएको बताए । उनले बालमैत्री नगर घोषणाको क्रममा रहँदा शैक्षिक गुणस्तर र विद्यालयको पुर्वाधार निर्माणमा ध्यान दिन जरुरी रहेको बताए ।
योजना निर्माणमा सहभागीले विकास निर्माणका कामलाई समुचित ढंगबाट लैजानु पर्ने, विद्यालयको पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, बिकट गाउँमा रहेको शहरी स्वास्थ्य चौकीमा आवश्यक पुर्वाधारको व्यवस्था मिलाउन जरुरी भएको सुझाव दिएका थिए ।
शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्छौं : नगर प्रमुख लामा
आगामी आर्थिक वर्षको योजना निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकामा नगर प्रमुख मीनाकुमारी लामाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाबाट सुरु भएको योजना तर्जुमा बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रित बजेट आगामी आर्थिक वर्षमा आउने बताइन् ।
‘अब हामी विकासलाई फरक ढंगले लैजान्छौं’ नगर प्रमुख लामाले भनिन् । आगामी आर्थिक वर्षलाई शैक्षिक वर्षको रुपमा मनाउने उपमहानगरको लक्ष्य रहेको भन्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राखेर अघि बढ्ने बताइन् । विकासको काम गर्दै गर्दा नगरवासीको आयआर्जन र दिगो विकासलाई ध्यान दिने उनको भनाई थियो ।
उनले गाउँमा रहेको बाँझो जमिनबाट कसरी नियमित आय गर्न सकिन्छ भन्ने अध्ययन गरेर जनतलाई आर्थिक फाईदा हुने उपाइको खोजी गरिने बताइन् । छर्ने गरी बजेट बनाउने होइन दिगो ढंगबाट कामलाई अघि बढाउँदै लैजाने योजना बनाइएको उनको भनाई थियो । नगरका १९ वटै वडाहरुमा रहेका नगरवासीले उठाएका बिषयलाई प्राथमिताका आधारमा कार्यान्वयनमा लैजाने उनको भनाई थियो ।
योजना तर्जुमामा नगरका उपप्रमुख राजेश बानियाँले जनताले दिएको म्याडेड अनुसार विकासका कामलाई अघि बढाइने बताए । नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्ने उद्देश्य अनुसार कार्यक्रमलाई वडाहरुमा ल्याएको उनले बताए । शिक्षा र स्वास्थ्यलाई नगरको विकासको कडिका रुपमा लिएर अघि बढ्ने गरी कम गर्छौैँ उनले भने । ‘स्तरीय बाटो होइन स्तरीय शिक्षा र स्वास्थ्य भन्ने सोचमा हामी छौं त्यहि ढंगले अघि बढ्छौं’ उनले बताए ।
हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरु, टोल विकास संस्थाका प्रतिनिधि, बाल समूहका संयोजकहरुको सहभागिता रहेको थियो ।