भरतपुर, १३ चैत ।
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई मंगलबार भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।
गत फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाको गरिमालाई उँचो पार्ने गरी काम गर्ने उल्लेख गरे ।
संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । ‘अहिले संविधान कार्यन्वनको चरणमा छ’, उनले भने, ‘केही महत्वपूर्ण ऐन, कानुनहरु निर्माण हुन बाँकी छन् । ऐन कानुनहरु नबन्दा काम गर्नलाई गाह्रो भइरहेको छ । निजामति ऐन, प्रहरी समायोजन ऐन तथा टिआरसी सम्बन्धी कानुन छिटो निर्माण गर्न जरुरी रहेको छ ।’
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरले सम्माननीय प्रधानमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र माननीय उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताइन् । इतिहासमा यस्तो अवसर विरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुबै भएको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।