भरतपुर, १३ चैत ।
उद्योग वाणिज्य संघ–चितवनले मंगलबार संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई बधाई तथा सम्मान गरेको छ ।
राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएकोमा नारायणप्रसाद दाहाललाई बधाई र बेलायतमा प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड” अन्तर्गत सन् २०२४ को ‘इन्टरनेशनल मेयर अवार्ड’ प्राप्त गरेकोमा भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहाललाई सम्मान गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए ।
कार्यक्रमका प्रमुृख अतिथि राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय एकतालाई मिलाएर लैजाने केन्द्र राष्ट्रिय सभा भएको बताए । उनले राष्ट्रिय सभालाई संविधानले व्यवस्था गरे अनुसार जिम्मेवारीमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि मेयर दाहालले भरतपुर महानगरले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु महानगरवासीको गर्वको विषय भएको बताइन् । उनले भरतपुर महानगरको आर्थिक एवम् सामाजिक विकासमा अझ बढी जिम्मेवारी थपिएको बताइन् ।
उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष देशीराम प्रधानले चितवनमा औद्योगिक क्षेत्र विकासमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष र महानगर प्रमुखलाई अनुरोध गरे । राष्ट्रिय सभा अध्यक्ष दाहाललाई बधाईसहित सम्मानपत्र उद्योग वाणिज्य संघ चिवनका पूर्वअध्यक्ष प्रधानले हस्तान्तरण गरेका थिए । मेयर दाहाललाई बधाईसहित सम्मानपत्र उद्योग वाणिज्य संघ चिवनका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इश्वर सापकोटा, संघका पूर्वअध्यक्षहरु उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी, राजन गौतम, राजु श्रेष्ठ, संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति थियो ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।