भरतपुर, १२ चैत ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीका बालबालिकाले फागुपर्व मनाएका छन् ।
सानैदेखि संस्कृतिको जगेर्ना गर्दै विकृति हटाउने बानी बसाल्न मन्टेश्वरीले फागु पर्व मनाउने कार्यक्रम आयोजना गरेको हो । मन्टेश्वरीले फरक शैलीमा फागु पर्व मनाएको हो । मन्टेश्वरीका विद्यार्थीले टीका, अबिर लगाएर होली खेल्दै खुसी साटासाट गरेका छन् ।
कार्यक्रममा मन्टेश्वरीका म्युजिक र डान्स क्लासका शिक्षकहरुले लाइभ ब्याण्ड समेत प्रस्तुत गरेका थिए । मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले मन्टेश्वरीले हरेक वर्ष नयाँनयाँ ट्रेण्ड ल्याउने गरेको बताए ।
मन्टेश्वरीको क्षेत्रमा ब्राण्डका रुपमा स्थापित बनेको स्टार्स मन्टेश्वरी धेरै अभिभावकहरुको रोजाइमा पर्न सफल मन्टेश्वरी हो । जहाँबाट तपाईंका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी विसं. २०६७ सालमा स्थापना भएको थियो ।
मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ ।
के हो फागु पर्व ?
काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि फागु पर्व औपचारिक सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ, फागुन शुक्ल अष्टमीका दिन । अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।
असत्यमाथि सत्यको जीत भएको सूचकका रुपमा यो चीर राखिन्छ । पछि लगेर टुँडिखेलमा चीरलाई बिर्सजन गर्ने चलन छ । जलेको चीरको खरानी शुभ लक्षण रूपमा बासिन्दाहरूले घरघरमा लैजाने गर्छन् । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दौत्यराज हिरण्यकशिपु आप्mनै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधी बनेका थिए ।
भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।
नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ भगवान् श्रीकृष्णको प्रिय रङ मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङको प्रयोग पनि आज व्यापक गरिन्छ । शुक्ल पक्षको ठुलो चन्द्रको छत्रछायामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यका लगायत अन्य ठाउँहरूमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट दिन बिदा दिइन्छ ।
वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरूबिचको सम्बन्ध अनि रङले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के वृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रूपमा हेरेरै त होला नेपाली जन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।
बालबालिकाले पिचकारी अनि ससाना बेलुनका साथमा मज्जा लिन्छन् । फेरि पिचकारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङहरू अनि भ्रातृत्व र साहसको पर्व हो । सुरु–सुरुमा जो कोही पनि यसपाला म रङ खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गिन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरू सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्त्व रहन्छ ।
तराईतिर त झन् पोखरी नै रङ्गिन पुग्छन्, रङ्गहरूले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरूलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ ।
यो पर्वमा खाने कुराहरूमा आज मालपुवाको विशेष महत्त्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्त्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्त्व हुन्छ । अर्कोतर्फ भाङको घोटा अर्थात् गाउँतिर पाइने भाङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाउँदै जोगीरा सररर…. को तालमा नाँच्नुको विशेष महत्त्व हुन्छ ।
पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरू मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरूलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ ।