भरतपुर, १२ चैत ।
शब्द र बिम्बहरुको मीठो समिश्रणको साहित्यिक ध्वनिमा कलाकर्मीहरुको अद्भुत कला प्रदर्शनीले थपिदिएको सुगन्धसँगै युथ थिन्कर्स सोसाइटी – चितवनद्वारा आयोजित ‘चिया, कला र कविता’ को सातौं संस्करण २०८० चैत १० गते नारायणी नमुना माध्यमिक विद्यालयमा सम्पन्न भयो ।
साहित्य विकास, प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले विगत ६ वर्षदेखि यस संस्थाले आयोजना गर्दै आइरहेको ‘चिया, कला र कविता यस वर्षपनि करिब ६० जना कला र साहित्यप्रेमीहरुको सहभागितामा गरिएको हो । संस्थाकी सचिव नृपा गौतमको अध्यक्षतामा सञ्चालन भएको यस कार्यकममा कवितातर्फ पृथ्वीदेवी सुवेदी र रामकृष्ण पौडेल अनि कलातर्फ उर्मिला थापा मगर र योगेश खनाल निर्णायकको भूमिकामा थिए ।
शब्दका माध्यमबाट छताछुल्ल भएका जीवन भोगाई र मनोभावनाहरुका उत्कृष्ट कविता मध्येबाट सीता रेग्मीको ‘शून्य गाउँघर’ ले प्रथम स्थान हासिल गर्न सफल भयो भने रोजन परियारको ‘अस्तित्वको खोजी’ र सरोज कटेलको ‘खै कस्तो नयाँ नेपाल आयो ?’ कविताले क्रमश द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
त्यसैगरि कलातर्फबाट पनि अरोमा कलेजका आर्यन खड्काको स्केच प्रथम, अतित कर्माचार्य र मृणाल घिमिरेको क्यानभासले क्रमश: द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए ।