मकवानपुर, १२ चैत ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयले स्थापना दिवस मनाएको छ । प्रदेश राजधानी मकवानपुरको हेटौंडास्थित मुख्य न्यायाधिवक्ताको कार्यालय परिसरमा सातौं स्थापना दिवस मनाइएको हो ।
दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख ललित घलानले कार्यालयले दिनुपर्ने सेवा सुविधा परिष्कृत हुँदै जानुपर्ने बताए । मुख्य न्यायाधिवक्ताको संरचनाले संघीयता सुदृढीकरण र प्रदेशको स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।
उनले नेपालमा ७० वर्षमा ७ वटा संविधान परिवर्तन भइसकेको अवस्थामा संविधानको अति तीव्र परिवर्तनलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घलानले बाहिर संघीयता चाहिँदैन भन्ने तत्वहरू रहेकाले प्रदेश र संघीयताको मोडललाई संस्थागत गर्ने तर्फ ध्यान दिनुपर्ने बताए ।
बागगमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालको सभापतित्व र जिल्ला समन्वय समिति हेटौंडाका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका पहिलो मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने, उच्च सरकारी वकिल कार्यालयका ईश्वरीप्रसाद ढकाल, उच्च अदालत पाटन हेटौंडा इजलासका श्रेष्तेदार रामप्यारी सुनार, संचार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, जिल्ला बार एसोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतलगायतको उपस्थिति थियो ।